एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक भदौ १३ गते सम्मका लागि स्थगित

७ भदौ, काठमाडौं । चालु प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित भएको छ । नेकपा एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक सभामुखले एक साता स्थगित गरिएको जानकारी दिएका छन् ।

आजदेखि १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै एमालेले प्रतिनिधि सभा बैठक नराख्न सभामुख समक्ष आग्रह गरेको थियो ।

एमालेको आग्रह अनुसार प्रतिनिधि सभा बैठक यही भदौ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।
नेकपा एमालेको आज स्थायी कमिटी बैठक छ । यसैगरी ९ गते पोलिटव्यूरो, १० र ११ गते केन्द्रीय कमिटी तथा १२ गते निर्वाचन परिचालन कमिटीको बैठक बोलाइएको छ ।

आजको बैठकमा कानुनमन्त्री गोविन्द बन्दीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ पेश गरेका छन् ।