फोहोर बोकेको गाडीलाई अवरोध गर्न नदिन बञ्चरेडाँडा क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन

३० साउन, काठमाडौं । काठमाडौं उपत्यकामा फोहोर थुप्रिएर दरगन्धित हुन थालेपछि उठाएर फोहोर डम्पिन गर्ने स्थानमा फोहोर फ्याक्न नदिएपछि आजबाट फोहोर बोकेको गाडीलाई अवरोध गर्न नदिन बञ्चरेडाँडा क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका गाडीलाई राजनीतिक दलका प्रतिनिधिसहितको स्थानीय वासिन्दाको टोलीले विहानदेखि नै अवरोध गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको धादिङको धुनिवेशी नगरपालिका समितिले संयुक्त विज्ञप्ति जारी गरी बञ्चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा गरेका थिए । उनीहरुलाई नेकपा एमाले र राप्रपाका नेताले पनि साथ दिएका स्थानीय वासिन्दाले बताएका छन् ।

राजनीतिक दलहरुको अवरोधका कारण सोमबार बिहान काठमाडौंबाट गएका कुनै पनि गाडीले ल्याण्डफिल साइटमा फोहोर खसाल्न पाएका छैनन् । आइतबार गएका २५ वटा गाडीले मात्र फोहोर खसालेका थिए ।