ताप्लेजुङमा आगलागी सात वटा घर जलेर नष्ट

बैशाख २०,ताप्लेजुङ । हिजो राती ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागी भएको छ । गएराति १० बजेदेखि लागेको आगो शनिबार बिहान साढे ५ बजेतिर नियन्त्रणमा लिइएको बताएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सात वटा घर र पाँच वटा घुम्ती पसल जलेर नष्ट भएका बताइएको छ ।
भट्टराई होटल एण्ड लजबाट आगलागी सुरु भएको थियो । दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
आगलागीको कारण भने खुलेको छैन । आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । ताप्लेजुङ सदरमुकाममा हरेक वर्ष आगलागी हुँदै आएको छ ।