दोलखाको बिगु गाउँपालिका लादुकमा पहिरो जाँदा सिंगटी बजार क्षेत्रका करिब ३० घर जोखिममा

२७ साउन, काठमाडौं । दोलखाको बिगु गाउँपालिका–४ लादुकमा पहिरो जाँदा सिंगटी बजार क्षेत्रका करिब ३० घर जोखिममा परेका छन् । अति जोखिममा परेका घरका बासिन्दाहरु त्यहाँबाट विस्थापित भएका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

सोही ठाउँमा गत २३ गते पनि पहिरो जाँदा चार वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका थिए । गएरातिको वर्षासँगै झरेको पहिरोले थप घरहरुमा क्षति पुगेको छ । ‘पहिरोले खोलिखोम एरियाका ३० वटा जति घर जोखिममा परेका छन् । हामीले जोखिममा परेकाहरुलाई त्यहाँबाट सुरक्षित स्थानमा पठार्इ सकिएको छ ।

पहिरो पसेपछि बजारका घर र पसलहरुमा लेदो माटो छिरेको छ । बसाइ जोखिमपूर्ण भएपछि केही मानिसहरु वरपरका घर र आफन्तको बसेका छन् ।

पहिरोले बजार क्षेत्रको बाटो अवरुद्ध भएपछि पहिरो पन्छाएर खुलाउने काम भइरहेको छ ।