सत्ता गठबन्धनबीच सिट बाँडफाँटका लागि मोडालिटी बनाउन तय बनेको कार्यदलमा कृष्ण प्रसाद सिटौला संयोजक चयन

सत्ता गठबन्धनबीच आगामी मंसिर ४ गते हुने प्रदेश र संघको निर्वाचनमा सिट बाँडफाँटका लागि मोडालिटी बनाउन तय बनेको कार्यदलमा कृष्ण प्रसाद सिटौला संयोजक चयन भएका छन् ।

आज बालुवाटारमा बसेको बैठकले सिटौलालाई संयोजक तोकेको हो । कार्यदलका सदस्य तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सिटौलालाई संयोजक तोकिएको जनकारी दिए । उनका अनुसार अर्को बैठक साउन २६ गते पुनः बस्नेछ ।

कार्यदलमा नेपाली काँग्रेसबाट सिटौला र कार्कीसहित महामन्त्री गगन थापा रहेका छन् । यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन, अर्थमन्त्री जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

प्रत्यक्ष तर्फ प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० निर्वाचन क्षेत्रको सिटमा बाँडफाँटका लागि कार्यदलले मापदण्ड र मोडालिटी बनाउने कार्यभार पाएको छ । प्रतिनिधिसभामा काँग्रेसले कम्तीमा ९५ सिट र अन्य दलले ८० देखि ८५ सिट दाबी गरेका छन् ।