पोखरा महानगर वडानम्बर १३, कमलपोखरी आसपास क्षेत्रका १०० भन्दा बढी घर डुबानमा

१६ साउन, पोखरा । साउन १५ गते साँझदेखि निरन्तर भइरहेको भारी वर्षाका कारण पोखरा महानगर वडानम्बर १३, कमलपोखरी क्षेत्र डुबानमा परेको छ । मानवीय क्षति नभए पनि १०० भन्दा बढी घर डुबानमा परेको वडाध्यक्ष किरण बरालले जानकारी दिए ।

रातिदेखि नै कमलपोखरी आसपासका क्षेत्र डुबानमा परेकाले रातिबाटै आफू डोजर लिएर थुनिएका विभिन्न ठाउँ तर्काउँदै हिँडिरहेको वडाध्यक्ष बरालको भनाइ छ । ‘तल दुईकुलो मुहान पनि हिजै खोलियो । माथिबाट आउने नहरको मुहान पनि बन्द गर्न भनिसकेका छौं’ उनले भने, ‘मुख्य समस्या भनेको काहुँखोलाबाट आएको पानीले डुबान पारेको हो ।

पानी तर्काउने काम भइरहे पनि निन्तर भारी वर्षा भइरहेकाले समस्या भइरहेको वडाध्यक्ष बरालको भनाइ छ । पोखरा १३ कमलपोखरी क्षेत्र बर्सेनि डुबानमा पर्दै आइरहेको ठाउँ हो ।