करणी गरेको भिडियो सार्वजनिक गरिदिने धम्की दिंदै पटक-पटक सामूहिक बलात्कार

११ साउन, विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाकी एक १९ वर्षीया किशोरी विराटनगर बसेर अध्ययन गर्छिन् । कलेजमा अध्ययन गर्दै गर्दा उनीसँग डिसिप्लिन इन्चार्ज सुरज सुवेदी नजिकिए । सुवेदीले उनलाई परीक्षामा सहयोग पनि गरे । सहयोगको बहानामा डेरामा भेट्न जान थाले । त्यही क्रममा उनले शारीरिक सम्बन्ध पनि राखे ।

पीडित पक्षको भनाइ अनुसार सुवेदीले शारीरिक सम्बन्धको भिडियो पनि बनाए । त्यही भिडियो देखाएर ब्ल्याकमेलिङ गर्दै कहिले होटल त कहिले डेरामै पुगेर करणी गरे । गत जेठयता यो श्रृङ्खला निरन्तर चलिरह्यो । सुवेदीसँग भिडियो भएका कारण किशोरीले घटना सार्वजनिक गर्न सकिनन् ।

यही क्रममा उनीमाथि करणी गर्ने अर्काे व्यक्ति थपिए विनोद राउत । राउत विराटनगरका प्रतिष्ठित व्यक्ति हुन् । जग्गा कारोबारी पनि रहेका सुवेदी विभिन्न सामाजिक संस्थामा आवद्ध छन् । राउत र सुवेदी साथी-साथी हुन् । उनीहरु दुवैजना राष्ट्रिय खेलकुद परिषद्को मोरङमा कराँते प्रशिक्षक छन् । सुवेदी यसअघि संखुवासभामा कार्यरत थिए ।

पीडितले प्रहरीमा भने अनुसार सुवेदी र राउतले किशोरीलाई विराटनगरको एक होटलमा सोही भिडियो सार्वजनिक गरिदिने डर देखाएर सामूहिक बलात्कारसमेत गरे । उनीहरुले नशालु पदार्थ खुवाएर किशोरीलाई पटक-पटक बलात्कार गरेको आरोप छ । पछिल्लो पटक सुवेदीले भिडियो देखाएर गत असार २८ गते बलात्कार गरेको पीडित पक्षको आरोप
छ ।

सामूहिक बलात्कारपछि किशोरी कलेज जान छाडिन् । कलेज नगएका कारण परिवारले सोधीखोजी गरेपछि मात्रै करणीको विषय खुलेको थियो । त्यसपछि परिवारका सदस्य प्रहरीसम्म पुगेका थिए ।

प्रहरीले सूचना चुहाएकाले आरोपीले भिडियो डिलिट गरेको दाबी

पीडित किशोरीले प्रहरीमा बयान दिंदा करणी गरेको भिडियो आरोपीहरुले बनाएको जिकिर गरेकी छन् । तर प्रहरी भने आरोपीहरुको मोबाइलमा भिडियो फेला नपरेको बताउँछ । दुवै जना आरोपीको मोबाइल किशोरीकै अगाडि हेर्दा भिडियो फेला नपरेको मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए ।

भिडियो खिचेको विषय चर्चामा आए पनि आरोपीको मोबाइलमा फेला नपरेपछि थप अनुसन्धान भइरहेको उनले बताए । ‘प्रहरीसम्म भिडियो आएको छैन, आएको भए प्रमाणको रुपमा सुरक्षित राखिन्छ’ उनले भने, ‘मोबाइल परीक्षण हुन्छ, भिडियो भए रिकभर हुन्छ ।’

पीडित पक्षले भने जबरजस्ती करणीको उजुरी परेको सूचना प्रहरीले नै चुहाएकाले आरोपीले भिडियो डिलिट गरेको हुनसक्ने दाबी गरेको छ ।

उजुरीपछि सुरुमा सुवेदीलाई पक्राउ गरेको प्रहरीले सुवेदीको बयानमार्फत राउतलाई पनि पक्राउ गरेको थियो । प्रहरीले ‘जबरजस्ती करणी’मुद्दामा अनुसन्धानका लागि विराटनगर-३ का राउत र विराटनगर-४ का सुवेदीलाई पक्राउ गरी मोरङ जिल्ला अदालतबाट म्याद थप गरेको छ । मंगलबार प्रहरीले दोस्रो पटक दुई दिनको म्याद थपेर अनुसन्धान गरिरहेको
छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले घटनाको अनुसन्धान भइरहेकाले थप सूचना दिन नमिल्ने बताए ।

अनलाइनखबरबाट