दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठकमा कारागार विधेयक २०७८ पारित गर्ने सम्भावित कार्यसूची रहेको छ।
आज बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाडले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको कारागार विधेयक २०७६ माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
सरकारले बन्दीलाई पनि प्रजनन अधिकार दिने गरी तयार पारेको विधेयक यसअघि २०७६ मा संसदमा दर्ता भएको थियो। उक्त विधेयकलाई प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले २०७८ वैशाखमा पारित गरेको थियो।
उक्त विधेयकमा कारागारमा रहेका वैध दम्पत्तिलाई प्रजनन संरक्षण गर्ने प्रयोजनका लागि भेटघाटको अनुमति दिने प्रावधान प्रस्ताव गरिएको थियो।
यसअघि सर्वोच्च अदालतले प्रजनन अधिकार संरक्षण गर्नु राज्यको दायित्व भएको र प्रजनन व्यक्तिको नैसर्गिक अधिकार भएकाले कसैलाई पनि वञ्चित नगराउन आदेश गरेको थियो।
यस्तै स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन २०७९ पेश गर्ने कार्यसूची रहेको छ।
यस्तै शिक्षा मन्त्री देवेन्द्र पौडेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।