Breaking News

लहान नगरपालिकाका उपमेयर महतोविरुद्ध जबरजस्ती करणी उद्योगको उजुरी

६ साउन, काठमाडौं । लहान नगरपालिकाका उपमेयर राम चलितर महतोविरुद्ध जबरजस्ती करणी उद्योगको उजुरी प्रहरीमा परेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले अदालतबाट पक्राउ पूर्जी प्राप्त हुनासाथ आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिने बताए ।

उपमेयर महतोले जागिर लगाइदिने भनेर स्थानीय एक महिलालाई आफ्नै कार्यकक्षमा लगेर जबरजस्ती करणी गर्न खोजेको किटानी जाहेरीमा उल्लेख छ । ‘कम्प्युटर अपरेटर पदमा जागिरका लागि निवेदन दिएकी महिलालाई दुर्व्यवहार गरेको आरोप उनीमाथि छ ।

यो गत जेठ महिनाको घटना हो । तर उजुरी भने प्रहरी कार्यालयमा दुई दिन अगाडि मात्र दर्ता भएको छ । सुरुमा प्रहरीले उजुरी लिन मानेको थिएन । तर अधिकारकर्मीहरुको पहलमा प्रहरीले उजुरी दर्ता गरेर आवश्यक कारबाहीको प्रक्रिया अघि बढाएको छ ।

आरोपीलाई पक्राउ गर्नुअघि अदालतबाट पक्राउ पूर्जी लिनुपर्ने भएकाले प्रहरीले निवेदन दिएको थियो ।

महतो जनता समाजवादी पार्टीका महतो गत स्थानीय तह निर्वाचनमा लहान नगरपालिकाको उपमेयरमा निर्वाचित भएका थिए ।