३१ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज भारत प्रस्थान भएका छन् ।
भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाको निम्तोमा प्रचण्ड आज भारत प्रस्थान गरेका छन् । भारत जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले आफ्नो भ्रमण सद्भावना भ्रमण भएको बताए । साथै उनले भ्रमण आकस्मिक नभएको समेत दाबी गरे ।
उनले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको नेपाल भ्रमण सकेर फर्किनु र आफू भारत जानुमा कुनै साइनो नभउको समेत बताएका छन् ।
नेपालका लागि तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्राले भारत भ्रमणको प्रस्ताव गरेको र उनी सचिव भएपछि आफूलाई फोन गर्दा जुलाई दोस्रो वा तेस्रो हप्ता उपयुक्त समय हुनसक्छ भनेको भन्दै प्रचण्डले भने, ‘त्यही अनुसार यो भ्रमण हुन लागेको हो । आकस्मिक होइन ।’
भारतीय प्रधानमन्त्री लगायतका सरकारी अधिकारीहरुसँग पनि भेट गर्ने कार्यक्रम रहेको भन्दै उनले व्यापार घाटा नियन्त्रण, कूटनीतिक सम्वादमार्फत सीमा समस्या समाधानका लागि विश्वासको वातावरण निर्माण लगायतका एजेण्डा उठाउने बताए ।
कसरी जाने भनेर प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयका अधिकारीहरुसँग पनि परामर्श गरेको भन्दै प्रचण्डले भने, ‘यो भ्रमण महत्वपूर्ण छ । नेपालका निम्ति, गठबन्धनको निम्ति, नेपाली जनताका निम्ति अर्थपूर्ण छ भन्ने विश्वासका साथ जाँदैछु । उत्साहको साथ जाँदैछु ।’