प्रतिनिधि सभाका उपसभामुखको चुनाव भोली अंकगणीत यस्तो छ

प्रतिनिधि सभाका उपसभामुख चयनको प्रक्रिया अघि बढेको छ । प्रतिनिधिसभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज बिहीबार बिहान ११ देखि अपराह्न १ बजेसम्म मनोनयनको समय तोकिएको छ । यस्तै उम्मेदवारको नामावली प्रकाशन आजै हुने छ ।

भोली शुक्रबार अपराह्न ३ बजेको बैठकमा उपसभामुख चयनको प्रस्तावमाथि मतदान हुनेछ । पद रिक्त भएको २९ महिनापछि पदपूर्ति हुन लागेको हो । २०७६ माघ ६ गते तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि पद रिक्त थियो ।

प्रतिनिधि सभाको सभामुख तथा उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

सत्ता गठबन्धनले काँग्रेस सचेतक पुष्पा भुसाललाई उपसभामुख पदमा उम्मेदवार बनाउने भएको छ ।

यसअघि पनि काँग्रेसले भुसाललाई उपसभामुखको उम्मेदवार बनाएको थियो भने । उनी तत्कालीन नेकपा एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित बनेकी थिइन् । ०७४ चैतमा भएको उपसभामुखको निर्वाचनमा तुम्वाहाङ्फे २०१ मतका साथ विजयी हुँदा भुसाल ५८ मत प्राप्त गरेर पराजित भएकी थिइन् । यसपटक गठबन्धन उम्मेदवारले जित्ने पक्का जस्तै छ ।

प्रतिनिधिसभामा एमालेको ९८, काँग्रेस ६१ ९दुई निलम्बित०, माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी पार्टीका २१, लोसपाका १३ र अन्य साना दल र स्वतन्त्र ४ जना सांसद छन् ।

पाँच दलीय गठबन्धनसँग काँग्रेस ६१, माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी पार्टीका २१ र राष्ट्रिय जनमोर्चाको १ गरी १५५ मत छ । लोसपाले एमालेलाई साथ दिएपनि गठबन्धनकै पल्लाभारी देखिन्छ । यता एमालेले उपसभामुखमा उम्मेदवारी दिने नदिनेबारे टुंगो लगाइ नसकेको बुझिएको छ ।