अन्तर्राष्ट्रिय बजारमा घट्न थाल्यो कच्चा तेलको मूल्य, सुनको भाउ पनि ओरालो

विश्व अर्थतन्त्र मन्दीमा जाने अनुमानसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र सुनको मूल्य घट्न थालेको छ । रुस–युक्रेन युद्धका कारणले कीर्तिमानी मूल्यमा पुगेको सुन र कच्चा पेट्रोलियमको मूल्य घट्न थालेको हो । यसअघि, रुसले युक्रेनमाथि आक्रमण गर्दा सुन र कच्चा पेट्रोलियम पदार्थको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो ।

सन् २०२२ को मार्च र जुन महिनामा कच्चा तेलको मूल्य प्रतिब्यारेल १३० अमेरिकी डलरभन्दा माथि पुगेको थियो । जुन, यतिबेला घटेर प्रतिब्यारेल १०१ अमेरिकी डलरमा आइपुगेको छ । यो पछिल्लो समयमा कच्चा तेलमा आएको प्रतिब्यारेल २९ अमेरिकी डलरसम्मको गिरावट हो ।

अहिले ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०४ अमेरिकी डलर छ । जुन, एक महिना अघि १३० अमेरिकी डलर प्रतिब्यारेलसम्म पुगेको थियो । त्यस्तै, आज डब्लूटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल १०१ अमेरिकी डलर प्रतिब्यारेल छ । जुन, यसअघि रुसले छिमेकी युक्रेनमाथि आक्रमण गरेसँगै बढ्न थालेको थियो ।

रुसले युक्रेनमाथि हमला गरेपछि पश्चिमा मुलुकले रुसको तेलमाथि कठोर प्रतिबन्ध लगाएका थिए । जससँगै, विश्व बजारमा माग ह्वात्तै बढ्दा मूल्य समेत आकासिएको थियो । तर, पछिल्लो समय विश्वका दोस्रो र तेस्रो ठूला बजार चीन र भारतले रुसबाट हुने तेल आयातलाई ह्वात्तै बढाएका छन् । विशेषगरी सस्तो दरमा कच्चा तेल आपूर्ति गरिदिएपछि यी दुई मुलुकले रुसबाट तेल आपूर्ति बढाएका हुन् ।

तर, यही कारणले विश्व बजारमा तेलको मूल्य ओरालो लागेको भने होइन । खासगरी, कोभिड महामारीको प्रभाव र रुस–युक्रेन युद्धका कारण यतिबेला विश्व अर्थतन्त्र मन्दीमा जाने अड्कलबाजी भइरहेको छ । जसकारण, विश्व बजारमा पेट्रोलियम पदार्थको खपत घट्ने अनुमानसहित मूल्य घट्न थालेको हो । अमेरिकाको सिटी बैंक समूहले केही साता अघि कच्चा तेलको मूल्य प्रति ब्यारेल ६५ अमेरिकी डलरसम्म आइपुग्ने प्रक्षेपण गरेको थियो ।

कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य घट्नासाथ नेपाल पनि त्यसबाट लाभान्वित हुने नेपाल आयल निगमको भनाइ छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले भारतबाट आउने नयाँ मूल्यसूची नै घटेर आउने सम्भावना रहेको बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘कच्चा तेलको भाउ घट्दाको प्रभाव नेपालमा पर्छ नै । यसबाट निगमको घाटाको बोझ केही कम हुने देखिएको छ ।’ यसैगरी, प्रशोधन गर्दा लाग्ने तयारी वस्तुको लागतमा समेत गिरावट आउने देखिएको निगमले बताएको छ ।

सुनको भाउ पनि घट्दै
यसैगरी, यतिबेला अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य समेत घट्न थालेको छ । पछिल्लो एक महिनाको अवधिमै सुनको मूल्य १.७७ प्रतिशत खुम्चिएको छ । यससँगै, हाल सुनको मूल्य प्रतिग्राम ५५.४२ अमेरिकी डलरमा आइपुगेको छ । सुनको मूल्य जुन ८ मा प्रतिग्राम ६० अमेरिकी डलरमा थियो । जुन, एक महिना यता नै करिब ५ अमेरिकी डलर प्रतिग्रामले घटेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेपछि त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि देखिएको छ । नेपालमा कारोबार मूल्य तोक्दै आएको सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो समय सुनको मूल्य निरन्तर घट्दो स्थितीमा छ । महासंघका अनुसार असार महिनामा मात्रै सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले घटेको छ ।

वैशाख महिनामा प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँसम्म पुगेको सुनको मूल्य त्यसयता निरन्तर घटिरहेको छ । वैशाखको मूल्यलाई आधार मान्दा आजसम्ममा सुनको मूल्य प्रतितोला ६ हजार ८०० रुपैयाँ घटिसकेको छ । सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्न थालेकाले नेपालमा पनि घटिरहेको जानकारी दिए ।

उनले रातोपाटीसँग कुरा गर्दै भने, ‘सुनको मूल्य निर्धारण अन्तर्राष्ट्रिय बजारका आधारमा हुन्छ । नेपालमा मूल्य घटबढ हुनुमा आन्तरिक बजारको प्रभाव रहन्न ।’

यस्तै पार्टीका विभागलाई पूर्णता दिनुपर्नेमा पनि पौडेलले जोड दिएका छन् । यस्तै भ्रातृसंस्थाका सन्दर्भमा प्लेन कमिटी बनाउने भन्ने बहसका बीच पौडेलले आफ्नो अडान राखेका छन् । उनले विधानले व्यवस्था गरेअनुसार पूर्ण कमिटी ल्याउनु पर्नेमा जोड दिएका छन् ।

रातोपाटीबाट