२३ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले आफ्नो क्षेत्राधिकारभित्रका विभिन्न काम राज्यमन्त्री हिराचन्द्र केसीलाई बाँडफाँट गरेका छन् ।
मन्त्री भवानी खापुङले १९ असारमा निर्णय गर्दै राज्यमन्त्री केसीलाई स्वास्थ्य मन्त्रालय र अन्तर्गतका निकायहरुबाट सम्पादन हुने महत्वपूर्ण पाँच वटा अधिकार प्रत्यायोजन गरेका छन् ।
राज्यमन्त्री केसीले मन्त्रालय वा अन्तर्गतका निकाय वा सो अन्तर्गत रहेका परिषद, विभाग, अस्पताल, प्रतिष्ठान, बोर्ड, केन्द्र र आयोजना लगायतका सम्पूर्णको अनुगमन गर्ने समन्वय गर्ने र नीतिगत सुधारका लागि विषयमा रायसहित पेश गर्ने अधिकार पाएका छन् ।
त्यस्तै विशिष्टीकृत अस्पतालहरुको सेवा प्रवाहको अनुगमन गर्ने, नीतिगत सुधारका लागि निर्देशन दिने विषयमा रायसहित पेश गर्ने र विशिष्टिकृत अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड सम्बन्धी विस्तृत योजना तर्जुमामा आवश्यक समन्वय र सोको कार्यान्वयनको अनुगमन गर्ने अधिकार पाएका छन् ।