गएको बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा विवादका कारण रोकिएको बाजुराको बूढीगंगा नगरपालिकाको पुन मतदान आज बिहानदेखी जारी छ । राजनीतिक दलको सहमति अनुसार आज सुरु भएको छ । मतदान बिहान ९ बजे देखी साँझ ५ सम्म चल्नेछ ।
१० वटा मतदान स्थलमा मतदान जारी रहेको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारले जानकारी दिए । उनका अनुसार मतदान शान्तिपूर्ण तरिकाले जारी रहेको छ ।
गत निर्वाचनमा मुख्यतः कांग्रेस र एमालेले बुथ कब्जा गरेर मत परिणाम प्रभावित पार्न खोजेको आरोप लगाएपछि निर्वाचन आयोग, बाजुराले अन्तिम समयमा मतदान स्थगित गरेको थियो । सर्वोच्च अदालतसम्म पुगेको सो स्थगित मतदानलाई पुनः राजनीतिक दलहरूको आपसी सहमतिमा २३ असारमा सुरु गरिएको हो ।
जारी निर्वाचनमा बूढीगंगा नगरपालिकाको भावी मेयर पदका लागि नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ बलिया उम्मेदवार मानिएका छन । बूढीगंगाको मत परिणाम आएसँगै स्थानीय तहको निर्वाचन भने औपचारिक रुपमा अन्त्य हुनेछ । स्थानीय तहको निर्वाचन परिणाम आउन बाँकी बुढीगंगा मात्रै एक्लो र अन्तिम स्थानिय तह हो ।