२१ असार, काठमाडौं । बागमती प्रदेशमा मुख्यमन्त्री हेरफेरको सम्भावना तत्काललाई टरेको छ । यससँगै नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डे आगामी चुनावसम्म बागमती प्रदेशको मुख्यमन्त्री रहिरहने छन् ।
सरकार गठनको समयमा बागमती प्रदेशमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पाण्डे र कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ आलोपालो मुख्यमन्त्री बन्ने लिखित सहमति भएको थियो ।
स्थानीय चुनाव लगत्तै सरकार छाड्ने गरी सुरुमा एकीकृत समाजवादीका नेता पाण्डे मुख्यमन्त्री बने । चुनावपछि कांग्रेसले सहमति कार्यान्वयनको माग
गर्यो । तर मुख्यमन्त्री पाण्डेले सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउन दिनुस् भनेपछि आफूले मानेको बानियाँ बनाउँछन् । भन्छन्, ‘बजेट ल्याउन दिनुस् भनेपछि एक महिनाका लागि हार्दिकतापूर्वक ओके भनेको हुँ ।’
बजेट पास भएपछि मुख्यमन्त्री पाण्डेलाई दबाव दिन कांग्रेस र माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षर संकलन नै गरे । एकीकृत समाजवादीमा समेत हस्ताक्षर संकलन गर्ने सहमति भएको भन्दै बानियाँ भन्छन्, ‘मुख्यमन्त्रीलाई हटाउने मनसायले वा उहाँले हट्न नमानेर होइन, सहमतिमै हस्ताक्षर संकलन गरेका हौं ।’
नेताहरुका अनुसार यदि बागमतीका मुख्यमन्त्रीले राजीनामा दिने हो भने अरु प्रदेशमा पनि हेरफेर गर्नुपर्ने अवस्था आउँछ । त्यसैले कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुले पनि मुख्यमन्त्री हेरफेरका लागि रुचि देखाएका छैनन् ।
सत्तारुढ दुई दलले हस्ताक्षर संकलन गरेपछि एकीकृत समाजवादीले भने असन्तुष्टि जनायो । प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरुले भने गठबन्धन भत्किन्छ भने पाण्डेको सरकारलाई समर्थन गर्नसक्ने आश्वासन दिए ।
गठबन्धनका नेताहरुका अनुसार कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच २–२ र जनता समाजवादी पार्टीले एक प्रदेशको मुख्यमन्त्री लिने सहमति शीर्ष तहमै भएको हो । नेताहरुका अनुसार यदि बागमतीका मुख्यमन्त्रीले राजीनामा दिने हो भने अरु प्रदेशमा पनि हेरफेर गर्नुपर्ने अवस्था आउँछ । त्यसैले कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुले पनि मुख्यमन्त्री हेरफेरका लागि रुचि देखाएका छैनन् ।