काठमाडौं उपत्यकामा भित्र-भित्र फैलियो हैजाको संक्रमण

२० असार, काठमाडौं । १ असारमा बागबजार बस्ने दुई दिदीबहिनीलाई झाडापखाला भयो । राती पटक-पटक झाडावान्ता भएपछि नजिकै रहेको मोडेल अस्पताल पुगे । उनीहरूको उपचारको क्रममा दिसामा हैजाको जीवाणु देखियो । थप उपचारको लागि मोडेल अस्पतालले २ असारमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रिफर गर्‍यो ।

अस्पतालका कन्सल्टयान्ट फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार अस्पताल आइपुग्दा उनीहरूको स्वास्थ्य अवस्था गम्भीर बनिसकेको थियो । ‘अस्पतालको आकस्मिक कक्षमा भर्ना गर्दा उनीहरुको रक्तचाप एकदमै न्युन थियो’ डा. चालिसेले भने,’ आईसीयूमा राखेर थप उपचार सुरु गर्‍यौं ।’

डा. चालिसेको टिम दिदीबहिनीको उपचारमा जुट्यो र १० दिनको बसाइमा निको भएर घर फर्काए । आर्थिक अवस्था कमजोर भएकाले अस्पतालले उनीहरुको निःशुल्क उपचार गर्‍यो ।

काठमाडौं उपत्यकामा विभिन्न १५ स्थानमा अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । गम्भीर किसिमको झाडापखाला भएर अस्पताल भर्ना हुने बिरामीको चाप बढ्दो क्रममा छ । टेकु अस्पतालका सुचना अधिकारी नवराज गौतमका अनुसार हाल दैनिक १५ जनाभन्दा बढी झाडापखलाका बिरामी अस्पताल पुग्छन् ।

‘सबै बिरामीलाई भर्ना गर्न पर्दैन । केहीलाई भने भर्ना गरेर राख्छौं । आवश्यक औषधि र सल्लाह-सुझाव दिएर घर पठाउँछौं’ गौतमले भने,’ हैजाका बिरामी देखिएकाले झाडापखलाका लागेर आएका सबैको कल्चर परीक्षण गछौं ।’

स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं उपत्यकाका धारा र इनारको पानी, ट्याङकरबाट वितरण गरिने र जारको पानीमा इकोलाई र कोलिर्फम देखिएको छ । इकोलाई मानिसको दिसामा हुने जीवाणु हो । यसलाई झाडापखालाको एउटा प्रमुख कारक मानिन्छ ।

संक्रमितले प्रयोग गरेका पानी नै प्रदूषित देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. चुमनलाल दास बताउँछन् । पछिल्लो दिनमा बढ्दै गएका हैजा संक्रमित विभिन्न ठाउँमा देखिनुले काकाठमाडौं उपत्यकामा स्तरमा संक्रमण फैलिरहको भएको पुष्टि हुन्छ ।

‘संक्रमितको प्रयोग गरेका उपत्यकाका धारा र इनारको पानी, ट्याङकरको पानीमा दिसामा पाइने जीवाणु देखिएको हो’ दास भन्छन्,’ सबै ठाउँको पानी नै प्रदूषित छ, जसका कारण विभिन्न स्थानमा हैजाका बिरामी भेटिएका छन् । उक्त संक्रमितमा हैजाको स्रोत पानी देखिएको छ । तर, पानीको स्रोतमा कहाँबाट हैजाको जीवाणु पुग्यो भन्ने पहिचान हालसम्म पनि हुन सकेको छैन ।

‘अधिंकास हैजाका बिरामीले प्रयोग गरेका पानी प्रदूषित छ । अझै भनौं ती पानीमा दिसाको जीवाणु देखिएको छ । तर, पानीमा कहाँबाट हैजाको जीवाणु कहाँबाट पुग्यो भन्ने यकिन हुन सकेन’ डा. दासले भने, ‘एउटा स्रोतबाट फैलिएको छैन । धेरै ठाउँबाट फैलिएको स्रोत पहिचान गर्न ग्राह्रो भयो ।’

हैजा अर्थात कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको संक्रमणका कारण हुन्छ । सामान्यतया झाडापखालाजस्तो देखिने हैजा केही गम्भीर प्रकृतिको हुने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

उनका अनुसार उक्त जीवाणुको संक्रमण भएको केही घण्टादेखि पाँच दिनभित्र यसका लक्षणहरू देखिन्छन् । डा. पुनका अनुसार हैजाको पहिलो स्रोत फोहोर वा तलाउ हुन् । ‘फोहोर पानी वा तलाउमा हैजाको जीवाणु रहिरन्छ । जब वर्षाको समयमा धेरै पानी पर्दा खानेपानीमा पुग्छ’ डा. पुनले भने,’ खानेपानीको माध्यमबाट मानिसमा हैजा देखियो ।’

‘ती मानिसको दिसामार्फत (हैजाका जीवाणु ) ढलमा मिसियो । काठमाडौंमा ढल र पानीको पाइप एकैठाउँमा छ । उक्त ढलबाट फेरि खानेपानीमा मिसिन पुग्यो । त्यसबाट विभिन्न ठाउँमा हैजा बिरामी देखिए,’ डा. पुनले थपे ।

इडिसिडीका अनुसार बागबजार र कालीमाटी क्षेत्रमा दुई-दुई जना हैजाका बिरामी देखिएका छन् । त्यसैगरी, सानेपा, डिल्लीबजार, कपन, बालाजु (बोहोराटार), बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी (खसीबजार) , कीर्तिपुर, टेकु, कागेश्वरी मनहरा र ग्वार्कोमा एक-एक जनामा हैजा देखिएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो जानकारी अनुसार हैजा देखिएकामध्ये १२ बिरामी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने पाँच जना विभिन्न अस्पतालमा उपचारत छन् ।

त्यसैगरी, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) प्रवक्ता प्रकाश राई पनि वितरण भइहरेको पानीको गुणस्तर परीक्षण भइरहेको बताउँछन् । ‘हामी वितरण गरेका पानीमा तरल क्लोरिन मात्रा पनि बढाइरहेका छौं । वितरण भएको स्थानबाट खानेपानीको नमुना परीक्षण हैजाको जीवाणु भेटिएको छैन’ प्रवक्ता राईले भने,’ तर, खानेपानी र ढल एकैठाउँमा हुँदा त्यहीबाट सरेको हो कि भन्ने आंशका छ । हामीले खोजी गरिरहेका छौं ।’

स्वास्थ्य कार्यलय काठमाडौंले हैजा संक्रमित स्रोत पहिचान गर्न एउटा टोली नै खटाएको छ । ‘काठमाडौं उपत्यकामा हैजा संक्रमित भेटिन थालेपछि समुदायमा संक्रमण खोज्ने काम गरिहेका छौं । अहिलेसम्म धेरै पानीका स्रोतमा दुषित पाइएको छ’ कार्यलयका प्रमुख बसन्त अधिकारीले भने,’ हामीले नमुना मार्फत परीक्षण गरिरहेका छौं । तर, आम मानिसले सरसफाइमा ध्यान दिनुपर्छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा हैजा फैलिने जोखिम बढेको भन्दै सरकारले विभिन्न माध्यममार्फत सर्वसाधारण मानिसलाई खानेपानीबारे सजग रहन आग्रह गरेको छ ।

हैजा वा झाडापखाला लाग्नबाट बच्न पानी उमालेर, फिल्टर गरेर वा एक लिटर पानीमा तीन थोपा तरल क्लोरिन मिसाएर मात्रै पिउन विज्ञहरूले सुझाव छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मनसुन सक्रिय भएसँगै विभिन्न संक्रामक रोगहरु फेलन सक्ने भन्दै सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

मन्त्रालयको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाइ प्रमुख डा.समीरकुमार अधिकारी सबै अस्पतालहरुलाई पत्र लेख्दै पूर्वतयारी तथा सतर्कता अपनाउन आग्रह गर्छन् ।

मनसुनजन्य प्राकृतिक विपद्का कारण आउने स्वास्थ्य समस्यासँगै खानेपानी प्रदूषण भई हैजा रोगलगायत विभिन्न संक्रामक रोगहरू फैलन सक्ने भन्दै मन्त्रालयले सबै अस्पतालहरुलाई पत्र लेख्दै पूर्वतयारी तथा सतर्कता अपनाउन गरेको छ ।

मन्त्रालयले विपद्का घटना र महामारीलगायतको प्रतिकार्यका लागि तयारी एवं सतर्क रहन, स्वास्थ्यकर्मीहरू तयारी अवस्थामा राख्न, शय्याहरूको व्यवस्थापन गर्न, औषधि-उपकरणहरूको तयारी गर्न, अस्पताललाई निर्देशन दिएको छ ।

विज्ञहरु खान पिउन नसक्ने गरी बिरामी भएमा, दिसामा रगत देखा परेमा, बारम्बार बान्ता भइरहेमा , ज्यादै तिर्खाएमा, ज्वरो आएमा वा धेरै पटक पातलो दिसा गरेरमा तुरुन्तै स्वास्थ्य संस्था लैजानुपर्ने सुझाव दिन्छन् ।

अनलाइनखबरबाट