वागमतीमा मुख्यमन्त्री परिवर्तन हुने हो भने कर्णालीमा किन नहुने ?

वागमती प्रदेशका मुख्यमन्त्री परिवर्तनका लागि सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्रले गृहकार्य थालेसँगै मुख्यमन्त्री राजेन्द्र पाण्डे काठमाडौ आएका छन् । प्रदेशमा काँग्रेस र माओवादीका सांसदहरुले मुख्यमन्त्री परिवर्तन गर्न भन्दै हस्ताक्षर संकलन थालेपछि मुख्यमन्त्री पाण्डे काठमाडौ आएर आफ्नो पार्टीका शीर्ष नेतासँग परामर्शमा जुटेका हुन् ।

बिहीबार काठमाडौं आएका पाण्डे र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शुक्रबार छलफल भएको छ । तर अध्यक्ष नेपाल र पाण्डेबीचको छलफल पार्टीको आन्तरिक सांगठनिक विषयमा केन्द्रीत रहेको सो पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

‘मुख्यमन्त्री पार्टीको सांगठानिक विषयमा नेताहरुसँग छलफल गर्न आउनुभएको हो । त्यसक्रममा अध्यक्षसँग भेटवार्ता र छलफल त हुने नै भयो’, खतिवडाले भने, ‘वागमतीको मुख्यमन्त्री मात्रै नभएर गठबन्धनमा समग्रतामा छलफल हुनसक्छ त्यसपछि मात्रै के गर्ने भन्ने टुङ्गो लाग्छ ।’

वागमती प्रदेशमा मुख्यमन्त्री फेर्ने प्रयास भएपछि अध्यक्ष माधव नेपालले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गर्न चाहेका छन् । तर उनीहरुबीच शुक्रबार अपरान्हसम्म छलफलका लागि समय तय भैसकेको छैन । स्रोतका अनुसार तीन नेताबीच समग्र प्रदेशका सवालमा छलफल गर्ने अध्यक्ष नेपालको तयारी छ ।

‘गठबन्धनका नेताबीच समग्र प्रदेशका बारेमा छलफल हुन्छ र निर्णय हुन्छ, वागमतीको मात्रै छुट्टै कुरा गर्न जरुरी छैन’, अध्यक्ष नेपाल निकट स्रोतले भन्यो, ‘वागमतीमा मुख्यमन्त्री परिवर्तन हुने हो भने कर्णालीमा किन नहुने रु यो प्रश्न स्वभाविक रुपमा उठ्छ र यसमा नेकपा एकीकृत समाजवादी छलफल गर्न तयार पनि छ ।’ पाण्डे गत कार्तिकमा वागमतीको मुख्यमन्त्री बनेका हुन् ।

त्यसवेला पाण्डेले काँग्रेससँग आधा–आधा सरकारको नेतृत्व गर्ने आन्तरिक सहमति गरेका थिए । उक्त लिखत सार्वजनिक भएसँगै काँग्रेसले सहमतिअनुसार पाण्डेले छोड्नुपर्ने बताउँदै आएको छ । तर पाण्डे केन्द्रीय सत्ता गठबन्धनले निर्णय गरेमात्रै पद छोड्ने मनस्थितिमा छन् ।