सुत्केरी भएकी श्रीमतीलाई जबर्जस्ती करणी !

मोरङ जिल्ला अदालतले वैवाहिक जबर्जस्ती करणी मुद्दामा आरोपित श्रीमानलाई ३ लाख नगद धरौटी राखी तारेखमा थुनामुक्त गर्न आदेश दिएको छ । नोबेल अस्पतालमा कार्यरत एक डाक्टरविरुद्ध उनकै श्रीमतीले जिल्ला अदालतमा जबर्जस्ती करणीको मुद्दा दर्ता गराएकी थिइन् । सोही मुद्दामा मोरङ जिल्ला अदालतका न्यायाधीश रोशनकुमार भट्टराईको इजलासले आरोपित श्रीमानलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार धरौटीमा छाड्न आदेश दिएको हो ।

आदेशमा ‘अनुसन्धानका क्रममा संकलित सवुद प्रमाणबाट यी प्रतिवादीलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नु पर्नेसम्मको विद्यमान अवस्था हाल नदेखिएकाले पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी मुलुकी फैजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७२ समेतलाई दृष्टिगत गरी सोही संहिताको दफा ६८ बमोजिम नीज प्रतिवादी सांकेतिक नाम विराटनगर ५१६ (ग)बाट तीन लाख नगद वा सो बराबरको जेथा वा बैंक जमानत दिए लिई तारिखमा राखि दिन’ उल्लेख छ ।

उक्त मुद्दाको अन्तिम सुनुवाई हुन बाँकी छ । सो मुद्दामा वादीको तर्फबाट बकपत्र समेत भइसकेको छ । अदालतको आदेशपछि आरोपित डाक्टर अहिले थुनामुक्त भएका छन् । उनी थुनामुक्त भएपछि आफूलाई धाकधम्की र मार्ने प्रयास भइरहेको पीडित महिलाले बताएकी छन् ।

१८ दिनको सुत्केरी हुँदा घर निकाला, सुत्केरी अवस्थामै जबर्जस्ती करणी

अभियोगपत्रमा महिलाले आफूलाई चरम हिंसाजन्य व्यवहार गरी ससुरा, सासु र पतिले १८ दिनको सुत्केरी अवस्थामा घर निकाला गरेको बताएकी छन् । उनले बच्चा ५ महिनाको भएपछि घर निकालाबारे छलफल चलाउँदा डेरा गरी राख्न मञ्जुर भएको उल्लेख गरेकी छन् । यद्यपि घटनास्थल विराटनगर–३ ढाट पूर्वमा राखे पनि आफूलाई बन्दीसरह बनाई मोबाइल खोसी घरकोठा बन्द गराई घरबाट निक्लन समेत नदिइ कुटपिट गर्दै राख्ने गरेको र सोही क्रममा आफूलाई जबर्जस्ती करणी गरेको उनले बताएकी छन् ।

‘मेरो अप्रेशनद्वारा बच्चाको जन्म भएको हुँदा म करणीयोग्य भएको थिइनँ । विपक्षीले यस्तो अवस्थामा पनि जबर्जस्ती करणी गर्ने गर्नुहुन्थ्यो र मलाई अप्राकृतिक मैथुनसमेत गर्ने गर्नुभएको थियो,’ जाहेरीको व्यहोरामा उल्लेख छ, ‘यस्तैमा विपक्षीले मिति २०७९÷०१÷१८ गते राति अन्दाजी २३ः३० बजे मलाई आफ्नो घर कोठामा समाती कुटपिट गर्दै जबर्जस्ती लडाई पटक–पटक करणी गर्नुभयो । सो घटनाबाट मेरो शरीर, टाउको तथा स्तनमा समेत चोट लाग्न पुगेको छ ।’

उनले आफूलाई चोट लागेको र नोबेल अस्पतालमा उपचार गराएको बताएकी छन् ।

दुई जनाको प्रेम, विवाह र विवादसम्म

दुवैजनाको नोबेल अस्पतालमा भेट भएको थियो । बिरामीको उपचारमा खटिएका डाक्टर र आफन्तलाई उपचार सहयोगमा आएकी महिला डाक्टरबीच त्यहीँ चिनजान भयो । चिनजानपछि मोबाइल नम्बर र फेसबुकमा कुराकानी हुन थाल्यो । त्यही बीचमा प्रेम सम्बन्ध भयो ।

प्रेम सम्बन्ध भइसकेपछि उनीहरु घुमघामका लागि भेँडेटार गएका थिए । त्यहाँ उनीहरुको शारीरिक सम्पर्क भएको बयानका क्रममा उल्लेख गरिएको छ । परिवारसँग विवाहको कुरा गरेर विवाह गर्ने योजना बनाएका दुवै जनाबीच केही समयपछि खटपट सुरु भएको देखिन्छ । त्यही बीचमा महिलाले ती डाक्टरको विरुद्धमा धनकुटाको जिल्ला प्रहरी कार्यालयमा जबर्जस्ती करणी गरेको भन्दै किटानी जाहेरी दिन्छिन् । प्रहरीले डाक्टरलाई पक्राउ गरी मुद्दा चलाउँछ । मुद्दा चल्ने अवस्था आएपछि फेरि पारिवारिक सहमतिमा विराटनगरको होटल एसियाटिकमा उनीहरुको विवाह हुन्छ ।

विवाह भएको केही समयपछि फेरि उनीहरुबीच विवाद हुन्छ । विवादपछि आरोपित डाक्टरले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालतमा निवेदन दिन्छन् । ‘दैनिक निजसँग वादविवाद भई सम्बन्ध बिग्रिएपछि निजसँग मेरो घर व्यवहार नचल्ने रहेछ भनी मैले मोरङ जिल्ला अदालतमा छोडपत्रको लागि फिराद दर्ता गरेपछि म उपर वैवाहिक जबर्जस्ती करणीमा जाहेरी दरखास्त दिएको हो,’ प्रतिवादीको तर्फबाट अभियोग पत्रमा दिएको बयानमा उल्लेख छ, ‘निज बिरामी भएको अवस्थामा मैले करणी गरेको छैन ।’

महिलाले यसअघि एउटा विवाह गरेर छोडपत्र गरेको थाहा पाएपछि विवाह हुनुपूर्व नै विवाद सिर्जना भएको उनले बताएका छन् । पुरुष डाक्टरलाई जिल्ला अदालत धनकुटाले पनि १ लाख ५० हजार रुपैयाँ धरौटीमा त्यसबेला छोडेको थियो । पछि दुवै पक्षको मिलापत्रमा मुद्दा ढिसमिस बनाइएको थियो ।

रातोपाटीबाट