नेपालको दक्षिण भूभाग नजिक रहेकाले देशका अधिकांश स्थानमा भारी वर्षा

१५ असार, काठमाडौं । मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण भूभाग नजिक रहेकाले देशका अधिकांश स्थानमा भारी वर्षा भएको छ ।

आउने शुक्रबारदेखि अहिलेको अवस्थामा तुलनात्मक रुपमा केही सुधार देखिने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद वरुण पौडेलका अनुसार गएरातिदेखि नै गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका केही जिल्लामा अति भारी वर्षा मापन भएको छ ।

मौसमविद पौडेलका अनुसार कैलालीको धनगढी, बाँकेको नेपालगञ्ज, रुपन्देहीको भैरहवा, कास्कीको पोखरा, दाङ, प्यूठान, पाल्पा र रौतहटमा अति भारी वर्षा भएको छ ।

पछिल्लो १२ घण्टामा कास्कीमा १६४ मिलिमिटर, पाल्पामा १४८ मिलिमिटर, नेपालगञ्जमा १४५ मिलिमिटर प्युठानमा १४० मिलिमिटर, दाङमा १३५ मिलिमिटर र रौतहटमा १०६ मिलिमिटर वर्षा मापन भएको छ । कैलालीमा ६ घण्टामै १०० मिलिमिटर वर्षा मापन भएको छ भने भैरहवामा पनि अहिले भारी वर्षा भइरहेको मौसमविद पौडलले जानकारी दिए ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले पनि कैलाली, कन्चनपुर र आसपासका धेरै स्थानमा भारी वर्षा भएको जनाएको छ । कान्द्रा, मोहना, खुटिया लगायत नदीमा बाढीको बहाव बढेको छ । कैलालीको कान्द्रा नदीले सतर्कताको तह पार गरेको छ । त्यसैले आज बिहान १० बजेसम्मै सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।

यसैगरी जाजरकोट र आसपासका क्षेत्रहरुमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएका बाढी र पहिरोग्रस्त क्षेत्रमा दिउँसोसम्मै सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यस्तै रौतहटको गौर र आसपासको क्षेत्रहरुमा भारी वर्षा भएकाले तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा आज बेलुकासम्मै सतर्कता अपनाउनुपर्ने बाढी सूचना केन्द्रले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि देशका धेरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । शुक्रबारदेखि भने मौसम तुलनात्मक रुपमा केही सुधार हुने मौसमविद् वरुण पौडेलले बताए ।