लोक दोहोरी गायिका दिलमाया सुनारको शंकास्पद मृत्यु प्रकरणमा पक्राउ परेका प्रेमी सूर्य श्रेष्ठलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति

१३ असार, काठमाडौं । लोक दोहोरी गायिका दिलमाया सुनारको शंकास्पद मृत्यु प्रकरणमा पक्राउ परेका प्रेमी सूर्य श्रेष्ठलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

कर्तव्य ज्यान सम्बन्धी कसूरमा अनुसन्धानका लागि उनलाई हिरासतमा राख्न अदालतले अनुमति दिएको प्रहरी वृत्त, बालाजुका डीएसपी गौतम मिश्रले बताए ।

शनिबार बिहान पौने ११ बजे सुनार कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । लगत्तै प्रहरीले उनका प्रेमी श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

तर हालसम्म सुनारको मृत्युको कारण खुलेको छैन । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा फरेन्सिक डाक्टरहरुले शवको पोष्टमार्टम गरेका छन् । रिपोर्ट आइसकेको छैन ।

प्रारम्भिक जाँचमा सुनारको घाँटीमा ‘लिगेचर मार्क’बाहेक अन्य कुनै चोटपटक देखिएको छैन । शुक्रबार राति सँगै बसेका प्रेमी बिहान भागेर गएपछि घटना शंकास्पद बनेको छ ।