नेकपा एकीकृत समाजवादी पार्टीमा मन्त्रीको विषयलाई लिएर भाँडभैलो

पार्टीको निर्णयलाई चुनौती दिँदै १० सांसदले मन्त्री हेरफेर हुन नसक्ने भन्दै अध्यक्ष नेपाललाई ध्यानाकर्षण

नेकपा एकीकृत समाजवादी पार्टीमा मन्त्रीको विषयलाई लिएर भाँडभैलो सुरु भएको छ। पार्टीको निर्णयलाई चुनौती दिँदै १० सांसदले मन्त्री हेरफेर हुन नसक्ने भन्दै अध्यक्ष माधव कुमार नेपाललाई ध्यानाकर्षण नै गराएका छन् । ८ बुँदे ध्यानाकर्षण पत्रमा बजेट अधिवेशन चलिरहेका बेला एक्कासि मन्त्रिमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वभाविक मान्न नसकिने उल्लेख गरिएको छ ।

यस्तै पूर्व जानकारी पाउँदा स्वाभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउँछौँ भनेर नेतृत्वलाई मन्त्रीहरुले दिएको विश्वासमा ठेस पुर्याउने र पटक पटक अपराधीलाई जस्तो व्यवहार गरिएको ध्यानाकर्षण पत्रको दोस्रो बुँदामा आरोप लगाइएको छ । यस्तो व्यवहार कदापी ठीक मान्न नसकिने उनीहरुको भनाइ छ।

यस्तै स्थायी कमिटीको बैठकमा समेत अध्यक्ष माधव नेपालले गठबन्धनमा समस्या भएकाले बजेट पास भएपछि गठबन्धनमा रहेका दलहरूसँग सल्लाह गरेर पार्टीको निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निष्कर्ष विपरीत पटक पटक आजको भोलि नै मन्त्रीहरुलाई शपथ गराउन प्रधानमन्त्रीलाई दिएको दबाब किमार्थ राम्रो मान्न नसकिने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।

यसैगरी प्रस्ताव गरिएका नयाँ मन्त्रीहरुको नामावली असमावेशी र असन्तुलित रहेकाले त्यसप्रति गम्भीर असहमति राखिएको छ ।

पालैपालो मन्त्री बनाउँछु भन्ने नेतृत्वको भनाइलाई सही मान्ने हो भने पनि सबैलाई एउटै व्यवहार र मापदण्ड लागू नभएको उनीहरुको भनाइ छ । यस्तै महिलाको सहभागिता नभएको गैरसांसद र एकै जिल्लाबाट दुई जना एकैपटक मन्त्रीमा सिफारिस गरेको, पुरानो र नयाँको सन्तुलन नमिलाएकोमा पनि मोर्चाबन्दीहरुले आरोप लगाएका छन् ।

मन्त्रिमण्डल पुनर्गठन गर्दा पुरानो टिम पूरै फिर्ता र नयाँ टीम सन्तुलित र समावेशी सिद्धान्तको आधारमा सिफारिस गर्न जोडदार माग गरिएको छ । यसबाहेक यी समग्र विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाउन समेत माग गरिएको छ ।

मोर्चाबन्दी गर्नेहरूमा विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्ण कुमार श्रेष्ठ, कृष्णलाल महर्जन, गोपाल बहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरु रहेका छन् ।

मन्त्री हेरफेरविरुद्ध उभिए एकीकृत समाजवादीका १० सांसद