अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित

६ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को हिजो भएको चुनावमा अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन् । निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतअन्तरले हराउँदै नेम्वाङ अध्यक्ष चुनिएका हुन् ।

नेम्वाङले ४५ मत पाउँदा शेर्पाले ३९ मत मात्र पाए । अध्यक्षका अर्का उम्मेदवार राजिव पौडेलले भने एक मत पनि
पाएनन् ।

नेम्वाङ यसअघि वरिष्ठ उपाध्यक्ष र शेर्पा अध्यक्ष थिए । एन्फामा गणेश थापा अध्यक्ष हुँदा उनको कार्यशैलीको विरोध जनाउँदै कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङले ‘चेन्ज एन्फा’ अभियान सुरु गरेका थिए ।

अभियान सफलता उन्मुख हुँदै गर्दा नेम्वाङले कर्मालाई नेता मानेर एन्फाको नेतृत्वमा पनि पुर्‍याए । तर पछिल्लो चार वर्ष वरिष्ठ उपाध्यक्ष रहेका नेम्वाङले कर्मा र उनको काममाथि निरन्तर प्रश्न उठाएर असहमति जनाइरहे ।

वरिष्ठ उपाध्यक्षमा नेम्वाङकै प्यानलका वीरबहादुर खड्का विजयी भएका छन् । उनले ४४ मत पाए भने शेर्पाको प्यानलका शिक्षित पराजुली ४० मत मात्र पाए ।

चार जना उपाध्यक्ष मध्ये ३ जना पंकजको प्यानलका निर्वािचत भएका छन् । दावा लामा, दिपक खतिवडा, बिराटजंग शाही पंकजको प्यानलबाट निर्वाचित भएका हुन् ।

कर्माको प्यानलमा रहेका दुर्गाबहादुर केसी पनि ४३ मत ल्याएर अन्तिम चारमा रहँदै उपाध्यक्ष चुनिए ।

सुन्दर नरसिंह जोशी, उपेन्द्रमान सिंह, विज्ञानराज शर्मा र रत्नकुमार श्रेष्ठ पराजित भए । जोशी पंकजको प्यानलमा थिए ।