मन्त्री हेरफेरमा एकीकृत समाजवादीमा भाँडभैलो : कोही विद्रोह गर्ने र कोहीको धम्की

नेकपा एकीकृत समाजवादीमा सरकारमा सहभागी हुने मन्त्री हेरफेरको विषयले पार्टीमा भाँडभैलो मच्चिएको छ । सत्ता गठबन्धनमा परामर्श नै नगरी अध्यक्ष माधवकुमार नेपालले पुराना मन्त्रीलाई हटाएर नयाँ मन्त्री बनाउने विषय बाहिर ल्याएपछि पार्टीमा नेताहरुले भाँडभैलो मच्चाएका हुन् ।

गत जेठ २३ गते एकीकृत समाजवादीको सचिवालय बैठकले मन्त्री हेरफेरको निर्णय गरेको थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट पारित गर्नुपर्ने र सम्बन्धित मन्त्रालयका मन्त्रीले समेत जवाफ दिनुपर्ने भएकाले मन्त्री हेरफेर तत्कालका लागि रोकेका थिए । तर निर्णय भएको दुई हप्ता पुग्दा समेत केही नभएपछि मन्त्रीका दाबेदारहरु आक्रोशित भएका छन् । पार्टीले मन्त्री बनाउने निर्णय गरेपनि कार्यन्वयन नहुनु दुःखद भएको मन्त्रीका दाबेदार एक नेताले बताए ।

‘हामीलाई मन्त्री बनाउने भनेर पार्टीले निर्णय गर्यो । प्रधानमन्त्रीज्यूले रोक्नुभयो । भोलि भन्दै टारिएको छ’ ती नेताले भने, ‘कि पार्टीले मन्त्री बनाउने भनेर निर्णय गर्नु हुँदैनथियो । यदि पार्टीले निर्णय गरेपछि मन्त्री बनाउनुपरथ्र्यो । अब मन्त्री नभए चुनावमा के मुख लिएर जनतामा जाने हो ?’ अहिलेसम्म मन्त्री हुने वा नहुने टुंगो नलाग्नु राम्रो नभएको ती नेताले बताए । तर, मन्त्रीको दाबेदारको रुपमा अघि सारिएका शेरबहादुर कुँवरले कहिले मन्त्रीको सपथ हुन्छ भन्ने विषयमा टुंगो लागिनसकेको बताए ।

‘मन्त्री बनाउने भनेर पार्टीले निर्णय गर्यो । अहिलेसम्म सपथको लागि जानकारी आएको छैन ।

पार्टीले मन्त्री बनाउने भनेर निर्णय गरेका सांसद समेत पार्टी अध्यक्ष माधवकुमार नेपालसँग चिढिन थालेका छन् । पार्टीले गरेको निर्णय तत्काल कार्यन्वयन हुनुपर्ने भन्दै अध्यक्ष नेपालमाथि निरन्तर प्रेसर बढाएका छन् । कतिपय सांसदले मन्त्री नबनाए पार्टीबाटै विद्रोह गर्ने धम्की समेत दिन थालेका छन् ।