अबदेखि भिआईपीको हेलिकप्टर उडानमा दुई वटा पाइलट अनिवार्य

६ असार, काठमाडौं । वायुसेवा कम्पनीले तोकिएको आधार विमानस्थल (अपरेटिङ बेस) मा रात्री विसान गरेर पहिलो उडान सोही विमानस्थलबाट गर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिरकणले उडान सुरक्षालाई थप सुदृढीकरण गर्न तथा उडान सञ्चालनलाई थप व्यवस्थित गर्न भन्दै यस्तो निर्णय गरेको हो ।

विमान कम्पनीलेहरु उडान अनुमति लिँदा नै आफ्नो आधार विमानस्थल तोकेका हुन्छन् । तर, अहिले अधिकांश वायु सेवा कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रात्री विसान गर्ने गर्ने गरेका छन् ।

अब हेलिकप्टर र हवाईजहाजले तोकिएको आधार विमानस्थलबाट दिनको पहिलो उडान गर्नु पर्ने भएको छ । यसैगरी सरकारले विशिष्ट व्यक्ति (भीआईपी) को उडानमा हेलिकप्टर कम्पनीले २ जना पाइलट राख्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको निर्णयअनुसार अब हेलिकप्टरको प्रत्येक उडान पूर्व प्रयोग गर्ने गरी उडान सुरक्षा जोखिम मूल्यांकन र जोखिम न्यूनीकरणको लागि एक स्वचालित विद्युतीय प्रणाली (सफ्टवेयर एप्लिकेसन) सञ्चालनमा ल्याइने भएको छ ।