विद्युत प्रशारण लाइनको तारमा ६ घण्टा झुन्डिँदा भगवानले बचाए

माइला विक

नुवाकोटका माइला विकले विद्युत प्रशारण लाइनको तारमा ६ घण्टा झुन्डिँदा भगवानले बचाएको बताएका छन् । एक टेलिभिजनसँगको कुराकानीमा उनले भने, ‘म मर्न गएको थिएँ । एकदम माथि गएपछि मरिन्छ भन्ने थियो । तर लठ्ठामाथि पनि भगवान रहेछ । मलाई बचाए । एकदम खुसी लागेको छ ।’ तारमा झुन्डिँदा आनन्द आएको विकले बताए । ‘तारमा झुन्डिएर आएका हामी । अल्लो छेउ गएँ, पल्लो छेउ गएँ । तारमा झुन्डिँदा चीलले पनि ठुंग्यो । तारमा सुत्दा आनन्द आयो,’ उनी भन्छन् ।

तारबाट तल खस्दा मर्छु भन्ने आफूलाई नलागेको उनको भनाइ छ । उनले भने, ‘घरमा गएर सुत्नुपर्यो भनेर गाको । त्यहाँ गएपछि भ्रमण देखेँ । खम्बामा छोएपछि मन ढुक्क भयो । अनि गएँ सरासर । तलबाट मान्छेहरुले झर भन्दा पनि म आफ्नै सुरमा हिँडे ।’ विक ६ घण्टा तारमा झुन्डिँदा एक करोड बराबर घाटा भएको विद्युत प्राधिकरणले जनाएको छ । तर उनी भन्छन्, ‘करोडको कुरा होइन । खर्बको कुरा आयो । खर्बले पनि मेरो ज्यान आउँदैन ।’