एएफसी एसियन कप छनोटको दोस्रो खेलमा नेपाल कुवेतसँग ४-१ ले पराजित

मैदानमै बेहोस भए प्रशिक्षक अल्मुताइरी

२९ जेठ, काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत समूहको दोस्रो खेलमा नेपाल घरेलु टोली कुवेतसँग ४(१ ले पराजित भएको छ । हिजो शनिबार राती कुवेतको जाबेर अह अहमेद ईन्टरनेशनल स्टेडियममा भएको खेलमा कुवेतले नेपालमाथि एकपक्षीय नतिजा निकालेको हो ।

जोर्डन विरुद्धको अघिल्लो खेलको तुलनामा नेपालले कुवेत विरुद्ध आक्रामक फुटबल खेलेको थियो । तर, काउन्टर अट्याकमा आफैं गोल खायो । कुवेतका लागि युसुफ अल सुलाईमानले ४८ र ७० मिनेटमा गोल गरे । त्यस्तै, फहल अल रासपदीले २८ र मुबारक अल फानेनीले ७३ मिनेटमा गोल गरे ।

समूहमा नेपालको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा नेपाल जोर्डनसँग २(० ले पराजित भएको थियो ।

नेपालका लागि दर्शन गुरुङले ईन्जुरी टाईममा सान्त्वना गोल फर्काए ।

नेपालले ४० वर्षपछि कुवेत विरुद्ध गोल गर्न सफल भएको हो । सन् १९८२ को एसियन गेम्सका वाई बी घलेले कुवेत विरुद्ध गोल गरेका थिए । त्यस खेलमा नेपाल ३(१ ले पराजित भएको थियो । त्यसको ४० वर्षपछि नेपालका दर्शन गुरुङले कुवेत विरुद्ध गोल गरेका हुन् ।

मैदानमै बेहोस भए प्रशिक्षक अल्मुताइरी

खेलमा नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी मैदानमै बेहोस भए ।

दोस्रो हाफको सुरु भएलगत्तै अल्मुताइरी नेपालको टेक्निकल एरियामा बेहोस भएका थिए । लगत्तै मेडिकल टिमले उनलाई स्ट्रेचरमा राखेर अस्पतालतर्फ लाँदै गरेको दृश्य प्रत्यक्ष प्रशारणमा देखाइएको थियो । अस्पताल लैजाँदै गर्दा उनको मुखमा अक्सिजन मास्क लगाइएको थियो ।

नेपालले कुवेतसँग पहिलो हाफमा १ गोल खाएको थियो । कुवेतकै नागरिक रहेका अल्मुताइरी पहिलो हाफमा रेफ्री र फोर्थ अफिसियलसँगको विवादमा तनावमा देखिएका थिए । त्यसबापत उनलाई पहेंलो कार्डसमेत देखाइएको थियो ।

पहिलो खेलमा जोर्डनसँग २(० ले हारेको नेपालले कुवेतसँगको यो खेल ४(१ गोलअन्तरले गुमाएको छ । लगातार दुई हारसँगै नेपालको एसियन कप छनोट सम्भावना समाप्त भएको छ ।