गत वैशाख ३० गते भएको आमनिर्वाचनमा ललितपुर उपमहानगर र उदयपुर जिल्लाका केही पालिकाहरुको अनुभूति गर्न पाईयो । विशेषगरी उदयपुरका ४ वटा पालिकाहरु घुमेर हेर्दा अघिल्लो पटकभन्दा यसपटक प्रसारप्रसार गर्ने मत माग्ने र कार्यकर्ता परिचालन हुने तरिकामा अलि धेरै विकास भएको पाइयो । तर खर्चमा भने उसैगरी बढोत्तरी पनि भएको
देखियो । सालाखाला ५ वटा स्थानीय निकायमा हेर्दा अघिल्लो निर्वाचनभन्दा यसपाली तडकभडक, झण्डा, ब्यानरहरु कम भएको, मोटरसाईकल र्यालीहरु घट्दै गएको देखिन्छ भने भोजभत्तेरमा चै गाउँगाउंमै दिनमा ४/४ वटा भोजभतेर लागेको, ती भोजभतेरमा एउटै मानिस चारैतिर सहभागी हुँदै अघाउँदै हिडेको पाइन्छ । शहरमा होटलहोटलमा जाडरक्सी र गाउंमा टोलैपिचन्छे राँगा, खशी, सुंगुर र बोइलरको भोज नभएको कुनै गाउं नै हुँदैन । यस्ता भोज र पैसाका लागि उमेदवार वा तिनका कार्यकर्तासंग मतदाताले सिधै मोलमोलाई गर्ने, नभए भोट नदिने गरेको पनि भोगियो ।
केही उदाहरणहरु-
हाम्रो छरछिमेकमा बढीजसो दलित समुदायभित्रका विशेषतः सदा र चौधरी दनुवारको बस्ती छ । उनीहरुलाई यस्तो चुनाव दशैं-तिहारभन्दा ठूलो पर्व हुने गर्दछ । दशैंमा आफैलाई खर्चको ब्यवस्थापन गर्न गाह्रोसाह्रो हुनेगर्दछ । तर यस्ता चुनावमा तिनका प्रत्येक घरमा कताकताबाट किलोका किलो मासु आउँछ, कि त सिंगै बोइलर कुख्रा । फेरी उनीहरु करिव १५ दिनसम्म दिनदिनै हुने पार्टीका ४/४ वटा भोजमा खान पाउँछन् । गाउंघरमै हुने पार्टीहरुका भोजमा त उनीहरु थालै बोकेर हिड्नेगरेका छन् । कहाँ हिडेको भन्दा भोज खान । कुन पार्टीको भन्दा भोज खानेलाई नै थाहा छैन । विहान अर्कैको पार्टी, दिउँसो अर्कै अनि वेलुकी फेरी अर्कै । ‘यसरी फरकफरक पार्टीको भोज खाँदा सरम् लाग्दैन ?’ भनेर सोध्दा ‘के को सरम् ? जसले बढी मज्जाले खुवाउँछ त्यसैलाई भोट दिने हो ।’ ‘कसले मज्जाले खुवाउदै छ त ?’ ‘पैसा जसको छ त्यसले खुवाउँछ नी, अनि त्यसैलाई जिताउने हो ।’ उनीहरु स्पष्ट छन् भोज र पैसामा भोट । मैले घर नजिकैको छिमेकी भाउजुसंग ठट्टेऊलीमा सोधेँ ‘मान्छे चैं सुर्यको भोज रुखको खाने ?’ उनले भनिन् ‘भेट्टाएसम्म सवैको खाने हो नी । तिमी पनि खुवाऊ न, अनि भोट दिन्छु ।’ भोटका दिनमा भने उनी खुट्टा दुख्छ भनेर भोट हाल्नै गइनन् । संगैखेले हुर्केका एकजनालाई तिम्रो दलित आवास बनाउदा पनि तिमीलाई ठग्यो, तिम्रो करेशा भत्काएर नाली बनाउन खोज्यो, तिमीले दाउराको भारी बोक्ने छोडेकै छैनौ, अनि फेरी त्यसैलाई भोट् ? भनेर सम्झाएँ । उसले हुन त हो तर के गर्नु पहिलेको छाप लागेपछि अन्त मनै लाग्दैन । फेरी छापले तिमीलाई किनेको हो ? उसले सवै बुझ्यो तर अन्तमा भन्यो-‘हैट्, दिनको १५ सय देको छ, मासुरक्सी फ्री छ, अर्कालाई दियो भने त पाप पो लाग्छ ।’
उनीहरुलाई आफ्नो अमुल्य मतको मतलव हुन्न, कुन उमेदवार सही वा गलत वा कसले राम्रो गर्छ भन्ने कुनै वास्ता हुन्न । विगतकाले के कति कमजोरी गरे र त्यसले उनीहरु आफैंलाई पनि के कति घाटा भइरहेको छ त्यो पनि चासो हुन्न । केवल भोजभतेर, दारु, रक्सी अनि पैसा । भोट माग्दैगर्दा हामी ५ नंम्वर वडाका दनुवार बस्तीमा पस्यौं । तिनले त सिधै भने– ‘हिजो रुखवाला आको थियो ८ वटा खशी काटेर खुवायो । आज सुर्जे (सुर्य)वालाको भोज छ, १० वटा खशी काटेको छ । अझै एकएक हजार पनि दिएको छ । ल, तिमीहरु २/२ हजार दिन्छौं भने भोट दिन्छु ।’ कति सजिलै माग्छन्, कति सजिलै पैसाको मोलमोलाई गर्छन् मतदाताहरु ! गाउंघरको सरसफाई, रोजगारी, बालवच्चाको शिक्षा, उन्नत् कृषी, बाटोघाटो, पुलपुलेसा बाँध–तटवन्धन, भ्रष्टाचार आदिमा कुनै सरोकार छैन । उनीहरुलाई यति थाहा छ कि ५ वर्षमा एकपल्ट आएर यिनले भोट माग्ने हो त्यसपछि अर्को ५ वर्षसम्म देखैपर्दैनन्, त्यसैले मौका यही हो, पैसा वा दारुपानीमा भोट बेच्ने ।
पार्टी प्रसारप्रचार कार्यालयमा त एकजना वडा सदस्यले नै मेअर–उपमेअरलाई भनेर डेड्लाखको ब्यवस्था गरिदिनु पर्यो भने । उनको गाउंमा ६० घर छन्, तिनलाई हातहातमा १/२ हजार नहालीकन र एकछाक मासुरक्सी खुवाइएन भने तिनको भोट तान्न सकिन्न रे । मैले उनलाई सम्झाएँ– ‘हामी नयाँ पार्टी, जनताको सेवा गर्न उठ्दैगरेको पार्टी । नेता पनि त्यही किसिमका पैसा खर्च गर्ननसक्ने छौं । आजसम्मको उधारो मात्रै १२ लाखभन्दा बढी भइसक्यो । ६० घरको लागि डेडडेड् लाख खर्च गर्दैजाने हो भने ५ करोडले पनि सकिन्न ।’ ऊ तुरुन्त रिसायो– ‘तपाई राजनीति गर्न नजान्ने मान्छे रैछ, अहिलेको जमानामा पैसा छैन भने हामीले कसरी मान्छे तान्नु, चुनावमै नउठे भो नी’ भन्दै हिड्यो । आफ्नै कार्यकर्ताले त माथिल्लो निकायसंग यसरी सिधै पैसा माग्न नहिच्किचाएपछि अरुको त के कुरा भो र ?
एक उमेदवारले भनेको बजारमा हल्ला चल्यो– ‘पैसा हो पैसा, एकदुई करोड फालेँ भने हाती लम्केको र प्याउरा चम्केको धेरै फरक हुन्छ ।’ उमेदवारले जसरी पनि चुनाव जित्नैपर्ने हुँदा उसले मतदाताको भाऊ राखिदिन्छ । कसैलाई लाखमा, कसैलाई हजारमा त कसैलाई एक गिलास रक्सी र एकचोक्टा मासुमा किनिदिन्छ । अर्कोतर्फ पैसा लिनका लागि बिचौलिया दलाल उमेदवारहरु पनि प्रशस्त देखापरेका छन् । तिनीहरु कहिले मेरा मान्छे यति छन्, यति पैसा दिने हो खर्लप्पै तपाईकोमा भोट झर्छ र मेरो उमेदवारी फिर्ता लिएर तपाईको पार्टीको झण्डा बोक्छु भन्दै सवै पार्टी चाहरेर कम्तिमा २/४ लाख त कमाइहाल्दा रहेछन् ।
एकजना निकैवर्ष एन्जिओ चलाएर सामाजिक चेतना फैलाउदै आएकी स्वयंसेवी छिन् । उनलाई मैले स्थानीय निकायमा भएको विलासिता, भ्रष्टाचार, तानाशाहीपना र तिनै उमेदवारले गरेको विलासित चुनावी खर्चहरुको प्रमाणहरु दिदै प्रश्न गरेँ– ‘तपाई त समाज बदल्न हिडेको एक अभियन्ता, अव त नयाँ खोज्ने की ?’ तर उनी पनि ‘आ, जुन जोगी आएपनि कानै चिरेका हुन् । अव आउनेले राम्रो गर्छन् भन्ने के ग्यारेन्टी छ ?’ भन्दै हिडिन् । अर्थात उनी राजनीतिकरुपमा आफै बदलिन चाहदिनन् । यथास्थितीमै भ्रष्टाचार भइरहनु पर्छ, भोजभतेरमा बिकेर, पैसामा किनेर चुनाव जित्नुपर्छ र सक्नेले कमाउनु पर्छ भन्ने पक्षमै छिन् । किनकी यो चुनावी प्रणालीले उनलाई समाज बदल्ने धर्मभन्दा बदल्ने नाममा कमाउने कर्म सिकाएको छ ।
टाढाको कुरा नगरौं– मेरै परिवारमा पनि एम्ए पढेका मतदाता छन् । उनीहरु पल्लो घरको इख गर्दै भन्छन् ‘ऊ हेर्नु त, पल्लो घरको मान्छेलाई, बच्चाको स्कुलको फी तिर्न नसक्ने नाथेले यस चुनाव गोजीमा ५ लाख लिएर गाउँघरमा बाढ्दै हिडेको छ । कतिलाई दारुपानी खुवाउँदै छ । आफैले पनि एकडेड् लाख कमायो रे । तपाईको राजनीति त के राजनीति ? उल्टै आफ्नै खर्च हुने राजनीति पनि हुन्छ ??’ हामीजस्ता शिक्षितका परिवारमा त चुनाव भनेको विकासका लागि असल नेता, असल पार्टी छनौट गर्ने स्वच्छ पद्धती हो भन्ने चेतना छैन । चुनाव भनेकै पैसा कमाउने मौका हो, भोजभतेर खाने चाड् हो । मौकामा चौका हान्ने खेल हो भन्ने संस्कारले बास गर्नथालेको छ ।
मतदाता प्रशिक्षणमा कमिकमजोरी –
लोकतन्त्रमा दलहरुको आधारमा चुनाव लडिन्छ । तर यसपल्ट ३ वा ४ वा ५ पार्टीहरुवीचमा गठवन्धन हुँदा मतदातालाई तिनका चिन्हहरुमा धेरैवेर घोत्लिनु पर्यो । ५ पल्ट सिकाए पनि कतिले बिर्सिहाल्थे । अनि ७ छाप लाउनु पर्नेमा कसैले एउटामा मात्र त कतिले २८ वटा चिन्हमा सम्म भोट लगाएको देखियो । जस्तोः हसिँयाहतौडा, कलम र स्वतन्त्र वा रुख, कलम, छाता वा अन्य दलका गठवन्धनका चिन्हहरुलाई खोजिखोजी स्वस्तिक छाप लाउँदा धेरैजना अलमलिने गरेको र तिनका अधिकांश मतहरु बदर भएको देखियो । सुर्य र रुख खोज्न सजिलै भयो तर तीसंगै उठेका कलम वा अन्य पार्टीका छाप कहाँ छ, कति नम्वर रो र कोलममा छ भनेर खोज्नै गाह्रो भयो । अतः गठनबन्धनका विभिन्न चिन्हहरुमा भोट दिन चाहनेले भोट बिगारेको देखियो भने मतदातालाई धारा, गिलास, पुतली लौरौ, जेब्रा, मुढाआदिमा उठेका स्वतन्त्र उमेदवारहरुको चिन्ह खोज्नै गाह्रो पर्यो । जसले धेरै मतहरु बिग्रिए । एउटा प्र्रत्येक्ष उदाहरण हो– पर्साको एउटा पालिकामा ८५०० मतमध्ये ५२०० वदर देखियो । र, प्रमुख, उपप्रमुखमा सालाखाला २० प्रतिशत, वडा अध्यक्षमा ४० प्रतिशत र सदस्यहरुमा ६० प्रतिशतसम्म सवै पालिकाहरुको मत वदर देखिन्छ । यो भनेको दारु र पैसामा बिक्नेवाहेक थप ६० प्रतिशत मानिस लोकतन्त्र बुझ्दैनन् भन्ने हो ।
अझ तर गाउंघरका घाँसदाउरा र सानोतिनो ब्यापार गरी खाने मानिसलाई कांग्रेस र माओवादी र एमाले भन्नेवाहेक थाहै छैन । तिनलाई मधेसी र नयाँ पाटीहरुको चिन्ह यति छिट्टै चिन्न त्यति सजिलो थिएन । त्यसैगरी पहिलोपल्ट मतदान गर्नेहरु डराएको र हात काँपेको देखियो । तिनी कतिले सही स्थानमा मतको सदुपयोग गरेको पाइएन । कतिपय स्थानमा प्रहरीको अपमान, अनावश्यक तडकभडक र तर्साईले समेत जनताले मत खसाल्न सकेनन् । अझ वैशाख ३० गते कटारी–१०, सोरुङमा भएको सर्वसाधारणमाथी प्रहरीको अनावश्यक वल प्रयोग र हत्याले मानिसको मतदान गर्ने अधिकारलाई हनन मात्र होइन लोकतन्त्रको सुन्दरतामै प्रश्न खडा गरेको छ ।
परम्परागत निर्वाचन प्रणाली
अन्य मुलुकमा लोकतन्त्रको छनौट डिजिटल् प्रणालीमा विकास भइसक्दा हामीे चैं वि.सं.२०१० बाट आरम्भ भएको अधिक पुरानो विहारी चुनावी प्रणालीमै छौं । समाजवादका माक्र्स् मानिने विपी कोइरालाले समेत १०१५ सालमा यही चुनावी प्रणालीको अभ्यास गरे, जुन २ वर्ष नपुग्दै महेन्द्रले खारेज गरिदिएकाले त्यतिवेलै फेल भइसकेको मान्नुपर्छ । पञ्चायत भरी यही प्रणालीमा चुनाव लडेर जसको माल, मशल, मगज छ उसले मात्र कुर्सी पाउँथ्यो । उपल्ला भनिने जाति, लिंग, सामन्त, मुखिया, दरवारिया गुलाम, पैसावालाहरुले मात्र जित्दथे । सर्वहारा वर्ग, दलित–उत्पीडित, महिला, अल्पसंख्यकले चुनाव जित्ने होइन, लड्ने कल्पना पनि गर्न सकिदैनथ्यो । २०४७को परिवर्तनपछि पनि यही प्रणालीलाई अंगिकार गरियो । आरम्भमा सर्वहारा वर्गले पनि चुनाव जित्न सक्दारहेछन् भन्ने त देखियो तर कालान्तरमा तिनै सर्वहारा वर्गहरु मुखिया, सरदार र काजी–भाईभारदार जस्ता भए र जनतालाई किन्न थाले । किन्ने र बिकिने प्रणालीको पुनः विकास भयो । अन्ततः जनताले चुनावमा आफ्नो भाऊ आफै राख्न थाले ।
अहिले पनि यही विहारी प्रणाली छ । तर उमेदवारीमा भने केही सरलता छ । सवैले उमेदवारी दिनसक्छन्, पार्टीले समावेशिताका नाममा तल्लो तहमा उमेदवार बनाउँछ तर निर्णायक तहमा फेरीपनि पैसा हुनेले नै टिकट् पाउँछन्, खर्च गर्नसक्नेले जित्छन् । नहुनेहरु पार्टीको लिष्टमै पर्दैनन् । मैदानमा उत्रन चाहे भने उसले भएको सानोतिनो घरखेती पनि अन्नतः साहुकोमा बन्धकी राख्नुपर्ने हुन्छ । जनताहरु समेत थोरै मात्रामा मात्र असल उमेदवारको रोजाईमा छन् भने अधिकांश जनताहरुले चुनावलाई खाने र कमाउने पर्वको रुपमा लिन्छन् । यस्तो निर्वाचनले सार्वभौम जनताबाट असल नेताको छनौट भइ तिनले स्थानीय निकायको विकास गर्छन् अथवा असल नीति–निर्माता तथा विज्ञ र परिपक्व दृष्टीकोण भएका नेताहरु चुन्छन् भनेर आमजनतामा चासो हुनछाडेको छ । नेताहरुमा समेत चुनावमा नमस्ते गर्ने हो, जिते ५ वर्ष ढुक्क, हारे जुवा भन्ने विकृती भरिन थालेको छ । यस्तो निर्वाचन, जसलाई हामीले लोकतन्त्र र गणतन्त्रको सुन्दर पक्ष हो भनेर अझ पनि मान्दैआएका छौं ।
विकल्पको खोजी गर्नेकी ?
हामी प्रगतिवादीहरुले २०४८ सालबाटै हेर्यौं पञ्चायतभन्दा हामी कहाँ फरक भयौं त ? माओवादी सशस्त्र आन्दोलनपछि १५ वर्षे अभ्यासलाई पनि हेर्दैछौं त केही निम्नवर्ग, जाति, समुदाय र लिंगले चुनाव लड्न पाउनेबाहेक चुनावी गतिविधि उही छ त । उही भोजभतेर, मासुभात, जाँडरक्सी, खरिदविक्री, मोलमोलाई, दादागिरी, लडाईं, टसल–मशल, प्रहरीदमन वा वुथकब्जाको संस्कार । उत्पीडित दलित, महिला, मधेसी वा अल्पसंख्यक जोसुकै लडेपनि यो चुनावी संस्कार त संगसंगै बोकेर आयौं त । यसर्थ यस्तो प्रणालीले जनतालाई चेतनशील र बुझकी बनाउँदैन, असल नेता, असल पार्टी चुन्ने अवसर दिँदैन, न त गाउंघरको विकास समृद्धि र शान्ति स्थापना गर्नसक्ने र मुलुकको नीति बनाउन सक्ने क्षमतावान र जनताले वास्तविकरुपमा चाहेका नेताको छनौट गर्नसक्छ । अझ दलित उत्पीडित, अलपसंख्यक, ज्ञान र सामथ्र्य भएका मुलुकका लागि केही योगदान दिऊँ भन्ने कार्यकर्ता वा नेतालाई जीवनभर खेताला मात्र बनाउँछ, नेता होइन । यसर्थ पुरातन प्रवृतिको यो निर्वाचन प्रणालीको विकल्पको वारेमै सोच्न ढिला भयो कि !