Breaking News

नेकपा माओवादी केन्द्रमा पदाधिकारीसहित स्थायी समिति, पोलिटब्युरो सदस्य र केन्द्रीय सदस्य टुंगो लगाउने गरी गृह कार्य सुरु

नेकपा माओवादी केन्द्रमा पदाधिकारीसहित स्थायी समिति, पोलिटब्युरो सदस्य र बाँकी रहेको केन्द्रीय सदस्य टुंगो लगाउने गरी गृह कार्य सुरु भएको छ । पार्टीको ८ औ महाधिवेशन सकिएको पाँच महिनापछि पार्टीको सम्पूर्ण कमिटी छिनोफानो गर्नेगरी नेताहरु जुटेका हुन् । माओवादी ८ औ महाधिवेशन पुस ११ गतेदेखि ८ दिनसम्म चलेको थियो ।

आगामी असार १५ गते केन्द्रीय समिति बैठकबाट सम्पूर्ण पार्टी कमिटी र जनवर्गीय संगठनको टुंगो लगाउनेगरी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरु गृहकार्यमा जुटेको पूर्व स्थायी समिति सदस्य लीलामणि पोखरेलले बताए । ‘स्थानीय तह चुनावलगतै २० गते केन्द्रीय समिति बस्ने भनिएको
थियो ।

स्थानीय तहका प्रमुखरउपप्रमुखको प्रशिक्षण भएकाले बैठक रोकियो’ रातोपाटीसँग कुरा गर्दै पोखरेलले भने, ‘अब असार १५ गते केन्द्रीय समिति बैठक अघि नै पदाधिकारीसहित स्थायी समिति, पोलिटब्युरो र बाँकी केन्द्रीय समिति टुंगो लगाउने गरी गृहकार्य भइरहेको छ ।’

स्थानीय तह चुनाव अघि पदाधिकारीसहित स्थायी समिति, पोलिटब्युरो र जनवर्गीय संगठनको कमिटी टुंगो लगाउन खोजेपनि थप विवाद हुने भएकाले रोकिएको थियो । अब आगामी प्रदेश र संघको चुनाव अघि नै पदाधिकारीसहित पार्टी कमिटी र जनवर्गीय संगठनका सबै कमिटीले पूर्णता पाउनेगरी गृहकार्य थालिएको छ ।

माओवादीमा पार्टी पदाधिकारी ९ देखि १५ जनासम्म बनाउने गृहकार्य थालिएको छ । अन्य पदमा खासै विवाद नभएपनि महासचिवको बन्नेमा भने चर्को विवाद देखिएको छ । महासचिवका मुख्य दावेदारको रुपमा जनार्दन शर्मा र वर्षमान पुन देखिएका छन् ।