Breaking News

स्थानीयले फोहोर फाल्न अवरोध गरेपछि प्रहरी परिचालन गरेर काठमाडौंको फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा खसालियो

२३ जेठ, काठमाडौं । स्थानीयले फोहोर फाल्न अवरोध गरेपछि प्रहरी परिचालन गरेर काठमाडौंबाट फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा खसालिएको छ । यसअघि नै संकलन गरेर १५७ वटा गाडीमा लोड भइराखेको फोहोर हिजो मंगलबार दिउँसो ल्याण्डफिल साइटमा खसालिएको हो ।

सोमबार शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकासँग वञ्चरेडाँडाबासीका तर्फबाट नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीवेशी नगरपालिकाका जनप्रतिनिधिले सहमति गरेका थिए । सो सहमतिपछि मंगलबार १५७ वटा गाडी फोहोर फाल्न वञ्चरेडाँडातर्फ जाँदा स्थानीय वासिन्दाले वञ्चरेडाँडा आसपासको क्षेत्रमा अवरोध गरेका थिए ।

उनीहरुले जनप्रतिनिधिले गरेको सहमतिप्रति आपत्ति जनाउँदै फोहोर फाल्न नदिने अडान लिएका थिए । केही जनप्रतिनिधिहरुलाई लोभ र त्रास देखाएर हस्ताक्षर गराएको र संघर्ष समितिलाई बेवास्ता गरेको भन्दै स्थानीयले आपत्ति जनाएका हुन् ।

तर प्रहरी परिचालन गरेर प्रदर्शनमा उत्रिएकालाई लाठीचार्ज र नियन्त्रणमा लिएर ट्रकहरु ल्याण्डफिल साइटमा पुर्‍याइएको थियो ।