२१ जेठ, काठमाडौं । काठमाडौं जोरपाटीको सर्वनाम शिक्षालयका छात्राहरुले होस्टल वार्डेन रामजी बस्नेतले यौन दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।
छात्राहरुले यौन दुर्व्यवहारको घटनाबारे अभिभावकलाई जानकारी गराएपछि आज शनिबार भिभावकहरु होस्टल पुगेका थिए । उनीहरुले होस्टलमा नाराबाजी गर्नुका साथै घटनाको अनुसन्धान र दोषीलाई कारबाहीको माग गरेका छन् ।
घटनाबारे जानकारी लिन खोज्दा प्रिन्सिपल दुर्गानाथ शिवाकोटीले दुर्व्यवहार गरेको भन्दै अभिभावक आक्रोशित भएका छन् ।
महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले आरोपित होस्टल वार्डेन फरार रहेको बताए । प्रहरीले सर्वनाम शिक्षालयका प्रिन्सिपल शिवाकोटी र उनकी पत्नीलाई नियन्त्रणमा लिएको छ ।
घटनाको विषयमा सोधपुछ गर्न उनीहरुलाई नियन्त्रणमा लिएको न्यौपानेले बताए । ‘विद्यार्थीहरुले घटनाबारे जेठ १९ गते नै जानकारी गराएका रहेछन्, तर उहाँले केही गर्नुभएन भन्ने अभिभावकको गुनासो छ, हामीले सोधपुछका लागि नियन्त्रणमा लिएका हौं’ उनले भने ।