सरकार वलिक कार्यालयले पनि अहरण जाहेरी दर्ता गर्न मानेन

१६ बैशाख, काठमाडौं । सरकारी वकिलको कार्यालय, काठमाडौंले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) तथा नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ ।
महानगरीय प्रहरी परिसर, काठमाडौंले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि जसपाका नेताहरु सरकारी वकिलको कार्यालय पुगेका थिए । तर दुई घण्टा लामो छलफलमा पनि सरकारी वकिलको कार्यालयका प्रमुख हरिप्रसाद रेग्मीले दर्ता गर्न मानेनन् ।
दुई घण्टा भन्दा बढी समय सरकारी वकिल कार्यालयमा रहेका जनता समाजवादी पार्टीका नेताहरु जाहेरी दर्ता नभएपछि फर्किएका थिए । बस्नेत, श्रेष्ठ र खनालले तत्कालीन समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई १० वैशाखमा महोत्तरीबाट काठमाडौं ल्याएका थिए । डा. यादवले आफूलाई अपहरणको शैलीमा काठमाडौंमा ल्याएको बताएका छन् ।
समाजवादी पार्टीका नेताहरूले प्रधानमन्त्रीकै निर्देशनमा आफ्ना सांसदलाई अपहरण गरिएको दाबी गरेका छन् । महोत्तरीबाट काठमाडौं ल्याएको भोलिपल्ट बिहानै सांसद यादव मेरियट होटलबाट भागेर समाजवादी पार्टीका नेताहरूको सम्पर्कमा पुगेका थिए । खनाल, श्रेष्ठ र बस्नेतले भने उनकै सहमतिमा काठमाडौं ल्याइएको बताउँदै आएका छन् ।
जाहेरी नलिएको विरोधमा जनता समाजवादी पार्टीका कार्यकर्ताले बबरमहलमा सडकमा निस्किएर नाराबाजी गरेका छन् ।