ओलीको अहंकार, दम्भ, घमण्ड यो स्थानीय तह निर्वाचनबाट ५० प्रतिशत डाउन भयो

माओवादी केन्द्र नेता, सुदन किराती

स्थानीय तहको चुनाव अघिसम्म निकै सङ्कटमा रहेको भनिएको नेकपा माओवादी केन्द्र चुनावपछि भने निकै उत्साहित छ । पार्टी विभाजनको ड्यामेज कन्ट्रोल गर्दै माओवादीले २०७४ सालको स्थानीय निर्वाचनमा जितेको सिट सङ्ख्यामा थप गर्दै आफूलाई तेस्रो शक्तिको रूपमा स्थापित गर्न सफल भएको छ ।

लथालिङ्ग पार्टी संरचना र भद्रगोल तालमेलबीच पनि पार्टीले ल्याएको नतिजाबाट सन्तुष्ट हुने धेरै ठाउँ रहेको पार्टीका केन्द्रीय सदस्य सुदन किराती बताउँछन् । समग्रमा गठबन्धनले देश, संविधान र व्यवस्थालाई फाइदा नै भएको निष्कर्ष छ । एमालेलाई डाउन साइज गरेर उसको अहङ्कार काम गर्न पनि गठबन्धन सफल भएको बताउँछन् । यही पृष्ठभूमिमा किरातीसँग वीरेन्द्र ओलीले स्थानीय चुनाव, गठबन्धनको भविष्य, माओवादीको अबको रणनीति लगायत विषयमा केन्द्रित रहेर कुराकानी गरेका छन् । प्रस्तुत छ सो कुराकानीको सम्पादित अंश:



एमालेलाई चुनावबाट साइजमा ल्याउँछौँ भन्दै  पाँच दलीय गठबन्धन बनाएर चुनावमा होमिनुभयो तर सक्नुभएन, किन ?

त्यस्तो होइन। स्थानीय चुनावमा गठबन्धन बनाएर तालमेल गर्नु आफैमा जटिल थियो। त्यतिबेला तालमेल गर्न समय सीमा असाध्यै छोटो थियो। विचारधारात्मक दृष्टिकोणले विविधता थियो। सबैलाई मिलाएर लग्न सजिलो थिएन। ठाउँ विशेषमा गठबन्धन भए पनि समग्रमा शतप्रतिशत गठबन्धन हुन सकेन। यति ठुलो जटिलताका बीच तालमेल भए पनि ५० प्रतिशतले एमालेको अहङ्कार डाउन भयो।

स्थानीय चुनावको यो परिणाम अपेक्षित थियो कि अनपेक्षित थियो ? 

सुरुमा जति अपेक्षा गरेका थियौँ। त्यतिमा पुग्न सकेनौँ। तर समग्र राजनीति zक सङ्घर्षका दृष्टिकोणले हेर्दा सफल भएको मान्नु पर्छ। केपी ओलीको प्रतिगमनका विरुद्ध सङ्घर्षमा कठोरतापूर्वक लडेका थियौँ। प्रतिगामी तत्त्वलाई साइजमा राख्न सफल भएकोमा राजनीतिक र वैचारिक रूपमा सफल भयौँ। सिट सङ्ख्याका आधारमा ठुलो पार्टी काँग्रेस हुन सफल भएको छ। त्यसपछि माओवादी र जसपा हुन पुग्यो।

समग्रमा गठबन्धनले देश, संविधान र व्यवस्थालाई फाइदा भयो। व्यक्ति र क्षेत्र विशेषको घाटा सहायक रहन्छ। माओवादीदेखि साना शक्तिहरूलाई वैचारिक र राजनीतिक रूपमा धेरै फाइदा भयो। काँग्रेसलाई सिट सङ्ख्यामा धेरै फाइदा भयो।

माओवादीले २ सय स्थानीय तह जित्ने दाबी गरेको थियो। अन्तमा १२१ स्थानीय तह जितेर तेस्रो शक्ति भएको छ। जति गरे पनि माओवादीका स्थान तेस्रो नै रहेछ है?

देशी विदेशी प्रक्रियावादीहरूले भनेका थिए। माओवादीले २० सिट कटाउँदैन। औपचारिक रूपमा यो चुनावमा माओवादी समाप्त हुन्छ। माओवादी अब गुगल मात्रै भेटिन्छ। कहिले यता कहिले यता गरेर खाने प्रवृत्तिको अन्त्य हुन्छ भनेका थिए। आजको राजनीतिक वृत्तमा माओवादी निर्णायक शक्ति भएको छ भन्ने जनताले पुष्टि गरेका छन्। सिट सङ्ख्या तलमाथि हुने सामान्य कुरा हो। कुनै बेला माओवादी पहिलो शक्ति थियो अहिले तेस्रो शक्ति छ । फेरि पहिलो शक्ति भए अनौठो नमाने हुन्छ।

माओवादीले कहिले एमाले कहिले काँग्रेससँग लहसिएर कहिलेसम्म चल्ने हो ? माओवादी पार्टी ठेगाना नै नभएको पार्टी भनेर आलोचना गर्छन् ?

हामीले नियतमा हेर्नु पर्ने हुन्छ। हामीले कुन नियत राखेर तालमेल गर्दै आएका छौँ। एमालेसँग गठबन्धन गरेर एकतासम्म जाने गरी चुनावी तालमेल गरेका थियौँ। देशमा राजनीतिक स्थायित्व होस्। संविधानको धरातलमा रहेर देशले आर्थिक उन्नति गरोस् भनेरै गठबन्धन गर्दै पार्टी एकतासम्म जाने भन्दै तालमेल गरेका थियौ। त्यसले ठिक उल्टो बाटो लियो। केपी ओलीले प्रतिगमन गरेपछि देश र जनताको पक्षमा संविधान र लोकतन्त्रको पक्षमा उभिनुपर्ने भयो। त्यसमा सर्वोच्च अदालतले पार्टी विभाजन गरेपछि माओवादी पुनर्गठन गरेर जानुपर्ने भयो।

केपी ओलीले जसरी निरन्तर संविधान लोकतन्त्रमाथि प्रहार गरेका थिए त्यो प्रतिगामी कदम थियो। त्यसका विरुद्ध लोकतान्त्रिक वाम शक्ति बनाएर देशैभर आन्दोलनमा उत्रिएका थियौँ। त्यो हामीले गरेको इतिहासको आवश्यकता थियो। त्यसमा इमानदारिता र देशभक्तिपूर्ण भाव उद्वेलित भएको देख्नुहुन्छ। अरूले परिभाषित गरेको जस्तो कहिले यता र कहिले यता हामीले गरेका छैनौ र अवसरवादी चरित्र देखाएका छैनौ। त्यस्तो भन्नु गलत हुन जान्छ।

पार्टी अध्यक्ष प्रचण्ड मात्रै छन्। स्थायी समिति, पोलिटब्यूरो, केन्द्रीय समितिले पूर्णता पाएको छैन। पदाधिकारी बनाएको छैन। आफ्नै बलबुतामा चुनाव लड्ने माओवादीको दिन कहिले आउँछ ? 

यस्तो परिस्थितिमा पनि आफ्नो बलमा तेस्रो शक्ति भएका छौँ। त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ। तपाईंले भने जस्तै पदाधिकारीले पूर्णता पाएको छैन। केन्द्रीय समितिले समेत पूर्णता पाएको छैन। प्रदेशमा एकाधले पूर्णता पाएको छैन। कतिपय राष्ट्रिय एजेण्डालाई थाँती राखेर चुनावमा गयौँ। यस्तो असहज स्थितिमा पनि राम्रो नतिजा हासिल गर्‍यौँ। पार्टी पदाधिकारी र निर्वाचन समीक्षा आगामी केन्द्रीय समितिमा गम्भीर छलफल गर्ने छौ।

मधेस प्रदेशमा माओवादी बलियो छ भनिन्थ्यो। तर यो चुनावमा परिणाम फरक देखियो नि ?

कैयन प्राविधिक कुरा मिलेन भन्ने प्रारम्भिक रिपोर्ट आएको छ। सहरमा भन्दा गाउँमै माओवादीलाई जनताले रुचाएको पाइयो। यसको जरा र जन्म नै गाउँमा भएकाले बलियो भएको भन्ने छ। सहरमा माओवादी कसरी बलियो बनाउने भन्ने विषयमा केन्द्रीय समिति बैठकमा छलफल गर्ने छौ।

एकीकृत समाजवादीले काँग्रेस र माओवादीले भोटर मात्रै बनायो भनेर गुनासो गरेको छ। के तपाईंहरूले मत नदिएकै कारण एकीकृत समाजवादी सानो आकारमा खुम्चिएको हो ?

त्यस्तो होइन। सबैलाई व्यक्ति व्यक्ति र क्षेत्र क्षेत्र सबैलाई हेर्‍यो भने सबैलाई असन्तुष्टि हुन्छ। हामीलाई पनि सन्तुष्टि छैन। समग्रमा हेर्‍यो भने त्यसलाई उपलब्धिमूलक मान्नु पर्छ। उहाँले आंशिक रूपमा समीक्षा गर्दा के मिलेन कतै के मिलेन भन्दा त्यस्तो हुन सक्छ। हाम्रै भोजपुरमा गठबन्धनभित्रै मात्र तालमेल गर्ने भन्ने थियो। त्यो भन्दा बाहिर गएर काँग्रेसले एमालेसँग तालमेल गर्‍यो। समग्रमा हामीले चित्त बुझाउनु पर्छ उहाँहरूले पनि चित्त बुझाउने ठाउँ छ।

तपाईंकै नेताहरू एमालेका नेताहरूसँग दैन्नदिन भेटघाट गरी राखेका छन्। आगामी सङ्घ र प्रदेशको चुनावमा यहीँ पाँच दलीय गठबन्धनले निरन्तरता पाउँछ कि एमालेसँग तालमेल गर्ने अवस्था आउँछ ?

यो गठबन्धनले आगामी चुनावमा अझै ठोस आधार लिन्छ र लिनु पनि पर्छ। यहीँ गठबन्धनले निरन्तरता पाउँछ। एमालेसँग पुन तालमेल हुन्छ कि भनेर कतिपय चर्चा गर्छन्। तर एमालेसँग तालमेल र एकता सम्भव छैन, एमाले कम्युनिस्ट मात्रै होइन वामपन्थी पार्टी पनि होइन । कम्युनिस्टहरू ध्रुवीकरणको प्रक्रियामा जानुपर्छ। अहिले केपी ओली नेतृत्वको पार्टीसँग सम्भव छैन। त्यता जानु पनि हुँदैन।