सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेले बलात्कार प्रयास गरेको भन्दै दुईजना महिला प्रहरीको सम्पर्कमा

सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेले बलात्कार प्रयास गरेको भन्दै दुईजना महिला प्रहरीको सम्पर्कमा पुगेका छन् ।  भैरहवा घर भएका पाण्डेले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता आयोजना गरेका थिए ।

प्रतियोगिता सकिएपछि आयोजित ‘सक्सेस पार्टी’ भन्दा अघि काठमाडौंको एभरेष्ट होटलमा आफूलाई पाण्डेले बलात्कार गरेको भन्दै एकजना पिडित युवतीले सामाजिक संजालमा भिडीयोमार्फत आरोप लगाएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ । आइतबार थप दुईजना पीडितले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सम्पर्क गरेर आफूपनि पाण्डेबाट पिडित भएको बताएका छन् । अपराध अनुसन्धान कार्यालयका एकजना अधिकृतका अनुसार पछि सम्पर्कमा आएका दुईजना पीडितले पाण्डेले उनीहरुलाई ‘बलात्कार प्रयास’  गरेको दावी गरेका छन् ।

टिकटक युजर आईडी ‘सुशिखान जाने हो’बाट गत बुधवार साँझ पिडित युवतीले आफू मोडल एजेन्सी संचालक मनोज पाण्डेबाट बलात्कृत भएको आरोप लगाएर भिडियो पोष्ट गरेकी थिइन् ।  सो भिडियो सार्वजनिक भएपछि सामाजिक संजालमा उनलाई पक्राउ गर्न तिब्र दवाव बढेको थियो । संघिय संसदमा पनि यसबारे आवाज उठेपछि शनिवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पाण्डेलाई स्वयम्भूबाट पक्रेर अनुसन्धान शुरु गरेको छ ।