नवौं राष्ट्रिय खेलकुदका लागि लोगो, मस्कट र नारा सार्वजनिक

२४ वैशाख, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपले नवौं राष्ट्रिय खेलकुदका लागि लोगो, मस्कट र नारा सार्वजनिक गरेको छ ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र राखेप सदस्य सचिव टंकलाल घिसिङले लोगो, मस्कट सार्वजनिक गरेका हुन् ।

गन्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म आयोजना हुने नवौं खेलकुदमा कस्तुरी मृगको मस्कट रहने भएको छ ।

लोगोको शीर्ष स्थानमा पोखराको पहिचानका रुपमा माछापुछ्रे हिमाल राखिएको छ । त्यसमुनि चारवटा रातो ट्र्याकले प्रदेश नम्बर संकेत गर्छ भने त्यसमुनि पंक्षीको आकृति दिइएको छ ।

कलाकार भोलानाथ शर्मा पौडेलले बनाएको लोगो र मस्कट राष्ट्रिय खेलकुदका लागि छनोट भएको हो ।

गत वैशाख ४ गते राखेपले नवौंका लागि लोगो, मस्कट, नारा र गीत निर्माण गरी पेस गर्न पुरस्कारको व्यवस्थासहित सार्वजनिक सूचना जारी गरेको थियो ।

सूचनाअनुसार लोगोका लागि १३ र मस्कटका लागि चार आवेदन परेको थियो । लोगोमध्येबाट भोलाको कला छनोट भए पनि मस्कटमा चारै आवेदनले मापदण्ड पूरा नगरेपछि भोलालाई नै बनाउने जिम्मा दिइएको राखेपले जनाएको छ ।