केशव स्थापितलाई निर्वाचन आयोगले पुनः २४ घण्टे स्पष्टीकरण

नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले पुनः २४ घण्टे स्पष्टीकरण सोधेको छ।

स्थापितले काठमाडौं महानगरमा मेयरका उम्मेदवार रहेका बालेन शाहको विषयमा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ अनुकूल नभएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

‘नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवाद, लेनिनवादको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवार केशव स्थापितले सोही महानगरमा प्रतिष्पर्धी उम्मेदवार रहेका बालेन साहको विषयमा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ अनुकूल नभएकोले सो विषयमा आधार कारणसहित २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ’, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने।

एमाले उम्मेदवार स्थापितले प्रतिस्पर्धी शाहलाई ुअन्तर्राष्ट्रिय ठग’ भन्दै टिप्पणी गरेका थिए। यसअघि काठमाडौंको एक कलेजमा आयोजित कार्यक्रममा स्थापितले दिएको अभिव्यक्तिमाथि आयोगले स्पष्टीकरण सोधेको थियो ।

मुख्यमन्त्री भट्टले कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ७ विपद्पुरका अग्निपीडित मुक्तकमैया बस्तीको स्थलगत निरीक्षणका क्रममा पीडित परिवारलाई तत्कालका लागि प्रतिपरिवार ५० हजार रूपैयाँका दरले राहत दिने प्रक्रिया अगाडि बढेको भन्ने अभिव्यक्ति दिएकाले निर्वाचन आचारसंहिता २०७८ को व्यवस्था बमोजिम २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न आयोगले अनुरोध गरेको हो।

त्यस्तै अन्य विभिन्न पार्टीका नेता तथा स्थानीय तह सदस्यका उम्मेदवारहरूलाई आचारसंहिता उल्लंघन गरेको भन्दै २४ घण्टे स्पष्टीकरण दिन आदेश दिएको छ ।