Breaking News

सत्तारुढ पाँच दलले आज चितवनको भरतपुर महानगरपालिकामा संयुक्त चुनावी सभा गर्दै

२२ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनको सन्ध्यामा सत्तारुढ पाँच दलले आज चितवनको भरतपुर महानगरपालिकामा संयुक्त चुनावी सभा गर्दैछन् । आमसभालाई सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् ।

प्राप्त समाचार अनुसार भरतपुरको हाकिम चोकस्थित बसपार्कमा हुने सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका नेताहरुले सम्बोधन गर्ने छन् । सभालाई जसपा र राष्ट्रिय जनमोर्चाका नेताहरुले पनि सम्बोधन गर्ने बताइएको छ ।

भरतपुर महानगरमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रकी रेनु दाहाल प्रमुखको उम्मेदवार छिन् । उपप्रमुख पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन् ।

भरतपुर महानगरपालिकाको निर्वाचनलाई सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेले प्रतिष्ठाको विषय बनाएकाले धेरैको चासो चितवनमा हुने गरेको छ ।