स्थानीय तह निर्वाचन बैशाख ३० गते : करिव आठ हजार उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिए

१७ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचन बैशाख ३० गते हुने निर्वाचनमा मनोनयन गरेको करिव आठ हजार उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिव एक लाख ५३ हजार उम्मेदवारी परेकोमा करिव ८ हजारले फिर्ता लिएको जानकारी दिएका हुन् ।

‘उम्मेदवारी फिर्ता लिनेको संख्या करिव ८ हजार छ । एक लाख ५३ हजार उम्मेदवारी परेको थियो भने त्यसमा करिव ८ हजार जति उम्मेदवारले फिर्ता लिएका छन् । त्यसमा करिव एक लाख ४५ हजार उम्मेदवार कायम हुने देखिन्छ’ उनले भने ।

उनले अहिले उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने काम भइरहेको पनि बताए ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार शनिबार अपरान्ह ५ बजेसम्म निर्वाचनका उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । शुक्रबार स्थानीय तह निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिएको थियो ।