लन्डनको मुख्य केन्द्रको रुपमा रहेको पर्यटकीय स्थल ट्राफल्गर स्क्वायरमा यस वर्षपनि बुद्धजयन्ती मनाइने

लन्डनको मुख्य केन्द्रको रुपमा रहेको पर्यटकीय स्थल ट्राफल्गर स्क्वायरमा यस वर्षपनि बुद्धजयन्ती मनाइने भएको छ । आगामी मे २२ मा आयोजना गरिने बुद्धजयन्ती कार्यक्रममा लन्डनका मेयर सादिक खानलाई लन्डनस्थित नेपाली दूतावासमार्फत् औपचारिक निमन्त्रणा पठाइएको बुद्ध फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।

विगतमा फाउन्डेसनकै तर्फबाट पठाइने निमन्त्रणा योपटक दूतावासमार्फत् पठाइएको छ, कन्फरमेसन आएको छैन, मेयरको उपस्थिति रहनेमा आशावादी छौुं, श्रेष्ठले भने । बेलायतका सरकारी अधिकारीसंगै यहाँस्थित विभिन्न देशका ‘डिप्लोम्याटहरु’ लाई पनि आमन्त्रण गरिएको दूतावासले जनाएको छ ।

विश्वभरका मानिसहरुको जमघट हुने लण्डनको केन्द्र ट्राफल्गर स्क्वारमा आयोजना गर्न लागिएको उक्त कार्यक्रमले बुद्धको जन्मस्थल तथा उनको दर्शनको प्रचारप्रसार र नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने आयोजकले बताएको छ । बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश विश्वसामु दिनुका साथै नेपालको पर्यटक प्रबर्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

दिउँसो तीनदेखि छ बजेसम्मलाई निर्धारित कार्यक्रममा बुद्ध दर्शनसन्बन्धि मन्त्रोच्चारण, प्रवचन, मौलिक नेपाली संस्कृति झल्किने कार्यक्रम, शान्तिदीप प्रज्वलन, नेपालको पर्यटन प्रवर्द्धनात्मक सामग्री वितरण लगायतका कार्यक्रम राखिएको बुद्ध फाउन्डेसनका वरिष्ठ उपाध्यक्ष एवम् बुद्धजयन्ती कार्यक्रम संयोजक सचिन श्रेष्ठले जानकारी दिए । कार्यक्रमस्थललाई नेपालकै बौद्ध स्तुपाहरुकै झल्को दिने गरी ध्वजा, पटकाहरुसहित सजावट गरिने संयोजक श्रेष्ठले बताए । कार्यक्रममा सहभागी हुन नेपालबाट लामा गुरु रिम्पोचे पनि आउने जनाइएको छ ।

बुद्ध फाउन्डेसन यूके र कपिलवस्तु समाज यूकेको आयोजनामा सन् २०१६ देखि आयोजना हुँदै आइरहेको बुद्धजयन्ती कार्यक्रम कोरोना महामारीका कारण विगत दुई वर्ष स्थगित भएपछि यसपटक पाँचौं संस्करण हुन लागेको हो । नेपाल र नेपालीको स्वाभिमानसँग जोडिएको कार्यक्रम भएकाले यसलाई सफल पार्न बेलायतस्थित सम्पूर्ण नेपाली र संघसंस्थाहरूलाई एकजुट भएर लाग्न आग्रह गरिएको छ ।