सोसल मिडिया कम्पनी ट्वीटर ४४ बिलियन डलरमा बिक्री

१३ वैशाख, काठमाडौं । विश्वकै ठूलोमध्येको एक सोसल मिडिया कम्पनी ट्वीटर अन्ततः बिक्री भएको छ । विश्वका धनाड्य एलन मस्कले ४४ बिलियन डलरमा ट्वीटर किनेका हुन् ।

एलन मस्कले केही दिन अगाडि ट्वीटरको ९ प्रतिशत सेयर किनेका थिए । अब भने उनले ट्वीटरको सबै सेयर किनेका हुन् । उनले ट्वीटर कम्पनी ५४.२० डलर प्रति सेयरको दरले कम्पनी किनेका छन् ।

ट्वीटरको इन्डिपेन्डेन्ट बोर्डका अध्यक्ष ब्रेट टेलरले भनेका छन्, ‘ट्वीटर बोर्डले मूल्य, निश्चितता र वित्तपोषणमा एलन मस्कको प्रस्ताव गम्भीरतापूर्वक आँकलन गर्यो ।

सम्झौतापछि ट्वीटरको सबै सेयर होल्डर्सलाई क्यासमा आकर्षक प्रिमियम प्राप्त हुने छ जसबाट सेयरधनीलाई फाइदा हुने छ । हामीलाई लाग्छ ट्वीटरको सेयर होल्डरका लागि यो राम्रो अवसर हो ।’

ट्वीटरका सीईओ पराग अग्रवालले ट्वीटरको एक उद्देश्य प्रासंगिकता भएको र यसले दुनियालाई प्रभावित पार्ने उल्लेख गरेका छन् । उनले भनेका छन्, हामीलाई हाम्रो टिममा गर्व छ ।’

यसैगरी ट्वीटर कम्पनीका नयाँ मालिक एलन मस्कले वाक स्वतन्त्रता लोकतन्त्रको मुख्य अधिकार भएको उल्लेख गर्दै भनेका छन्, ‘ट्वीटर यस्तो डिजिटल टाउन हो जहाँ मानवताको भविष्यका लागि विभिन्न मुद्दामा बहस हुन्छ । ट्वीटरमा जबरजस्त क्षमता छ ।’ ट्वीटर कम्पनीमा काम गर्न उत्सुक रहेको भन्दै उनले यसमा नयाँ सुविधा थपेर पहिलेभन्दा राम्रो बनाउन कोसिस गर्ने बताएका छन् ।