चीनको सांघाईमा कोभिडबाट एकै दिन ३९ जनाको मृत्यु

चीनको सांघाईमा कोभिडबाट आइतबार एकै दिन ३९ जनाको मृत्यु भएको छ । योसँगै सांघाईमा कोभिडबाट मृत्यु हुनेको संख्या ८७ पुगेको त्यहाँको नेशनल हेल्थ कमिसनले जनाएको छ । आइतबार कोभिडका २२ हजार नयाँ संक्रमित भेटिएका थिए ।

साढे दुई करोड जनसंख्या भएको सांघाई पछिल्लो समय कोभिड संक्रमणको चपेटामा परेको छ । देशको बृद्ध र खोप नलगाएको ठूलो जनसंख्यामा कोभिडको जोखिम रहेको स्वास्थ्य अधिकारीहरूले चेतावनी दिएका छन् । कोभिडबाट मृत्यु हुने अधिकांश बृद्धबृद्धा रहेको सरकारले दाबी गरेको छ ।

सरकारले कोभिडबाट मृत्यु हुनेमा खोप नलगाएका र दीर्घ रोगी भएको बताए पनि पछिल्लो पटक मृत्यु भएकामध्ये पाँच जनाले खोप लगाएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

संक्रमितहरुको मृत्यु बढेसँगै चीनमा निर्मित खोपको प्रभावकारीताबारे केहीले प्रश्न उठाउन थालेका छन् । यसैबीच, राजधानी बेइजिङमा २२ नयाँ संक्रमित भेटिएका छन् ।