धादिङका १३ मध्ये १२ स्थानीय तहमा सत्तारुढ गठबन्धनमा भागबन्डा मिल्यो

११ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनका तीन दलले धादिङका १३ मध्ये १२ स्थानीय तहमा भागबन्डा गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी सम्मिलित जिल्ला स्तरीय संयन्त्रले चुनावी तालमेलमा सहमति जुटाउन नसकेपछि प्रदेश कमिटीका नेताहरुले भागबन्डा गरेका हुन् ।

सहमतिमा कांग्रेसले ७, माओवादी केन्द्रले ३ र एकीकृत समाजवादी पार्टीले ३ स्थानीय तहको नेतृत्व लिने उल्लेख गरिएको छ ।

थाक्रे गाउँपालिकामा अझै सहमति जुट्न सकेको छैन । सहमती अनुसार नीलकण्ठ नगरपालिका, खनियाबास, सिद्धलेक, गंगाजमुना, ज्वालामुखी, त्रिपुरासुन्दरी र नेत्रावती डबजोङ गाउँपालिकाको नेतृत्व नेपाली कांग्रेसको भागमा परेको छ । कांग्रेसले धुनिबेसी, रुबीभ्याली, गल्छी र गजुरीमा उपप्रमुख लिएको छ ।

माओवादी केन्द्रले रुबीभ्याली, गजुरी र बेनीघाट रोराङ गाउँपालिकाको नेतृत्व पाउँदा नीलकण्ठ नगरपालिका, खनियाबास, त्रिपुरासुन्दरी र नेत्रावती गाउँपालिकाको उपप्रमुख पाएको छ ।

त्यस्तै, एकीकृत समाजवादीले धुनीबेसी नगरपालिका र गलेछी गाउँपालिकाको प्रमुखसहित बेनीघाट रोराङ, ज्वालामुखी, गंगाजमुना र सिद्धलेक गाउँपालिकाको उपप्रमुख पाएको छ ।