हेटौडाको निर्माणाधीन दिव्य बाल उद्यानमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड

९ वैशाख, मकवानपुर । हेटौडाको निर्माणाधीन दिव्य बाल उद्यानमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको छ । हिजो राति अज्ञात व्यक्तिहरुले पार्कमा रहेका शालिक तोडफोड गरेका हुन् ।

आज बिहान पार्कमा मर्निङ वाक गर्न आएका स्थानीयले शालिक फुटाएको अवस्थामा देखेपछि पार्क व्यवस्थापन समितिलाई जानकारी गराएका थिए । समितिले प्रहरीलाई जानकारी गराएसँगै प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक अविनाश अधिकारीसहितको टोलीले घटनाको अनुगमन सहित अनुसन्धान थालेको हो । पार्कमा अन्य कुनै संरचनालाई क्षति नगरी मात्र मदन-आश्रितको मात्र शालिक तोडिनुले वडाको गौरवको योजनाको रुपमा रहेको पार्क निर्माणको लक्ष्यमा ठेस पुगेको हेटौंडा ९ का वडा अध्यक्ष लक्ष्मण भण्डारीले बताए । उनले घटनामा संलग्नलाई कारवाहीको माग गरे ।

जीवराज आश्रितको शालिक पुरै उखेलेर फालिएको छ भने मदन भण्डारीको शिर भाँचेर करिब ५० मिटरको दुरीमा लगेर फालिएको अवस्थामा भेटिएको छ ।

गत असार १४ गते वागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणी पौडेलले मदन(आश्रितको अर्धकदको शालिक अनावरण गरेका थिए ।