Breaking News

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर ७५३ स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर ७५३ स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको छ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर आयोगले बिहीबार देशभरका ७५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको हो।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले सबै स्थानीय तहमा निर्वाचन कार्यालय खोलिएसँगै देश निर्वाचनमा होमिएको बताए।

सबै निर्वाचन कार्यालयहरूले आयोगले दिएको कार्यतालिका अनुसार काम सुरू गर्ने पनि उनले बताए।

आयुक्त भण्डारीले निर्वाचन आयोगले निर्वाचनका लागि गर्नुपर्ने व्यवस्थापनका सम्पूर्ण कामहरू पूरा गरिसकेको उल्लेख गरे।

आजबाट हाम्रो सबै ७५३ स्थानीय तहमा निर्वाचन कार्यालयहरू खुलिसकेका छन्। यसको तात्पर्य सबै निर्वाचनको माहोलमा सहभागी हुनुहुने मतदाता, उम्मेदवार र त्यसलाई सहयोग गर्ने समुच्च समुदाय आजबाट निर्वाचनमा होमियो। कुनै हालतमा अब किन्तु, परन्तु छैन भन्नेकुरो छ्याङ्गै बुझ्नुभएको छ।’

निर्वाचन आयोगले दिएको कार्यतालिका अनुसार नै ती निर्वाचन कार्यालयले काम सुरू गरेको उनले जानकारी दिए।

‘ती निर्वाचन कार्यालयहरू आफूले गर्नुपर्ने कार्यतालिका जुन निर्वाचन आयोगले दिएको छ त्यो कार्यतालिका अनुसार उहाँहरूले काम सुरू गरिसक्नु भएको छ। यता निर्वाचनका व्यवस्थापनका कामहरू पनि लगभग हामीले सकिसक्यौं। सामान खरिद गर्ने, तत् तत् ठाउँमा पुर्‍याउने लगायतका विविध व्यवस्थापनका कामहरू सकिए,’ उनले भने।

आयुक्त भण्डारीले निर्वाचनको सम्बन्धमा कुनै प्रकारको सुरक्षा चुनौती नभएको बताए।

सरकारको सुरक्षा निकायले निर्वाचन सफल पार्नका लागि पूर्ण रूपमा सुरक्षाको प्रत्याभूति गराउने उनले विश्वास व्यक्त गरे।

निर्वाचन सामग्री सबै स्थानीय तहहरूमा समयमै पुर्‍याउने उनले बताए।

सामग्री अभावका कारण निर्वाचन नरोकिने उनले प्रष्ट पारे।

उनले निर्वाचन आचारसंहितालाई कडाइका साथ पालना गराउन आयोग लागेको भन्दै सरोकारवाला सबैलाई आचारसंहिता पालना गर्न आग्रह पनि गरे।