माधव नेपाल कड्किएर बालुवाटार बैठकबाट निस्किएपछि अन्तिममा देउवा पोखराबारे सोच्न बाध्य

गठबन्धनभित्र महानगरपालिका भागबन्डाको सहमति भएको छ तर एकीकृत समाजवादीलाई महानगर प्रमुख दिन सुरुमा नै काँग्रेस सकारात्मक थिएन । तर सहमतिमा जानै पर्ने भएकाले अन्तिममा काँग्रेस सहमति भयो । गठबन्धन बारे काँग्रेसभित्र असन्तुष्टि र गठबन्धनभित्रको सन्तुलन मिलाउन गठबन्धनका शीर्ष नेतालाई सकस परेको थियो । खास गरी पोखरा महानगर प्रमुखमा काँग्रेस र समाजवादी दुवैले दाबी गरेपछि गठबन्धनभित्र सहमति जुटाउन कठिन परेको थियो ।

सिट बाँडफाँटका क्रममा आफ्नो पार्टीलाई एउटा पनि महानगर मेयर नदिए गठबन्धनबाट बाहिरिने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले चेतावनी नै दिएका थिए । सोमबार साँझ भएको छलफलमा नेपाल कड्किएर बालुवाटारबाट निस्किएपछि देउवा पोखराबारे सोच्न बाध्य भएका थिए ।

सहमतिको खोजीमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका गण्डकी प्रदेश सभापति, कास्की जिल्ला सभापति र नेता यज्ञबहादुर थापालाई काठमाडौँ बोलाएका थिए । एकीकृत समाजवादीलाई मेयर छोड्दा जित्न सकिने नसकिनेबारे उनीहरूसँग देउवाले ब्रिफिङ लिएका थिए । काँग्रेस नेताहरूले एकीकृत समाजवादीले मेयर पाए जित्न कठिन हुने बताए ।

त्यसपछि प्रधानमन्त्री देउवाबाट एकीकृत समाजवादीका पोखरा मेयरका दाबेदार धनराज आचार्यलाई बालुवाटार बोलावट भयो । देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको परामर्शमा आचार्यसँग मंगलबार साँझ बालुवाटारमा पोखराको वस्तुस्थितिबारे जानकारी लिएका थिए । सोही क्रममा आचार्यले पोखराको मेयरमा आफू जित्नेमा शङ्का नगर्न भन्दै पार्टीका १२ हजार सक्रिय सदस्य रहेको तथ्य पेस गरेका थिए । आचार्यले उक्त तथ्य पेस गरेपछि बल देउवा एकीकृत समाजवादीलाई पोखराको मेयरमा गठबन्धनको साझा उम्मेदवार बनाउन तयार भएका थिए । तर काँग्रेस नेताहरूले आचार्यलाई रुख चुनाव चिह्नबाट उम्मेदवार बन्न जोड गरेका थिए ।

आचार्यले काँग्रेसको प्रस्ताव अस्वीकार गर्दै कलम चिह्नबाटै गठबन्धनको साझा उम्मेदवार भएर चुनावी प्रतिस्पर्धामा उत्रिने अडान लिए । अन्ततः आचार्यलाई कलम चिह्नबाट गठबन्धनको साझा उम्मेदवार बनाउने कुरामा काँग्रेस सहमत भयो ।