Breaking News

विराटनगरको सीमावर्ती क्षेत्रबाट मानवको हड्डीसहित एक भारतीय नागरिक पक्राउ

२९ चैत, विराटनगर । सशस्त्र प्रहरी बल बीओपी (बोर्ड आउट पोस्ट) रानीले विराटनगरको सीमावर्ती क्षेत्रबाट मानवको हड्डीसहित सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

आज दिउँसो सीमावर्ती क्षेत्र रानीबाट मानव शरीरका हड्डीसहित भारत बिहारको पूर्णिया नगरपञ्चायतका २६ वर्षीय आदित्य सिन्हालाई पक्राउ गरेको हो ।

सिन्हा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययनरत रहेको प्रहरीले बताएको छ । उनको साथबाट प्रतिष्ठानले सन् २०१६ मा जारी गरेको परिचय पत्र पनि फेला परेको छ । पढाइ सकेर भारत फर्कने क्रममा उनले कार्टुनमा लुकाएको अवस्थामा कङ्काल फेला थियो ।

सिन्हाको साथबाट एउटा मानिसको सिङ्गो शरीरको हड्डी बरामद भएको बताए । सिन्हाले भारततिर लैजाँदै गरेको अवस्थामा मानव खप्पर, बंगारा, घाँटी र हिपको हड्डी १र१ वटा, काँधको हड्डी २, खुट्टाको नली हड्डी ३, हातको हड्डी ६, करङ ७, ढाड, औंला र कुर्कुच्चाको हड्डी ८र८ वटा बरामद भएको हो ।

पक्राउ परेका युवकले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पढ्ने पुराना विद्यार्थीबाट अध्ययनका लागि मानव कङ्काल पाएको र पढाइ सकिएपछि घर फर्कने क्रममा लगेको बताएका छन् । उनले मानवको हड्डी लगेको विषयमा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई जानकारी नगराएको बताए । ‘एमबीबीएस अध्ययन गर्दा अग्रज साथीबाट लिएको थिएँ,’ उनको भनाइ उधृत गर्दै प्रहरीले भन्यो, ‘अरुसँग पनि छ ।’

नेपाल भारत सीमा नाकाबाट पक्राउ परेका सिन्हालाई सशस्त्र प्रहरीले आवश्यक कारवाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ ।