Breaking News

विदुर नगरपालिकाको मेयरमा माओवादी केन्द्र बाट प्रभा बोगटीको नाम सिफारिस

२९ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले नुवाकोटको विदुर नगरपालिकाको मेयरमा प्रभा बोगटीको नाम सिफारिस गरेको छ ।

हिजो बसेको माओवादी केन्द्रको विदुर नगर कमाण्डको बैठकले बोगटीको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको माओवादी स्रोतले बताएको छ । माओवादीको विदुर नगर कमिटीकी अध्यक्षसमेत रहेकी बोगटी माओवादीका दिवंगत नेता पोष्टबहादुर बोगटीकी छोरीसमेत हुन् ।

सत्ता गठबन्धनबीच तालमेल हुँदा विदुरको मेयरमा नेपाली कांग्रेसले पनि दाबी गरिरहेको छ । त्यस्तोमा माओवादीले उपप्रमुख पाउन सक्छ ।

बोगटीले तालमेल गर्दा माओवादीले उपप्रमुख पाए पनि आफूले नै नेतृत्व गर्ने बताइन् । ‘नगरपालिकाको मेयरमा मेरो नाम सर्वसम्मतिले सिफारिस गरेको छ,’ अनलाइनखबरसँग उनले भनिन्, ‘यहाँ गठबन्धन गर्ने भन्ने कुरा पनि छ । हामीलाई मेयर आए पनि, उपमेयर आए पनि त्यसमा मैले नै नेतृत्व गर्ने निर्णय भएको छ ।’

बोगटी यसअघि पत्रकारितामा सक्रिय थिइन् । उनी माओवादी केन्द्रनिकट पत्रकारको संगठन प्रेस सेन्टरको केन्द्रीय सदस्य समेत हुन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा विदुर नगरपालिकाको मेयर नेकपा एमालेले जितेको थियो भने माओवादी केन्द्रका उम्मेदवार तेस्रो भएका थिए ।