पत्रकार ऋषि धमलाले प्रेस काउन्सिल नेपालले सोधेको स्पष्टीकरणको जवाफ बुझाए

पत्रकार ऋषि धमलाले हवाई उडानको प्रोटोकल विपरित विमानभित्रै अवाञ्छित गतिविधि गरेको आरोप लागेपछि प्रेस काउन्सिल नेपालले सोधेको स्पष्टीकरणको जवाफ दिंदै स्पष्टीकरण पत्र काउन्सिलमा बुझाएका छन् । काउन्सिलले अस्ति मंगलबार ऋषि धमलालाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट नेपाल फर्किने क्रममा धमला अनुमति बिना विमानभित्र प्रधानमन्त्री बस्ने कक्षमा जबर्जस्ती घुस्ने प्रयास गरेका थिए ।

गत चैत २० गते प्राइम टिभी र युट्युव च्यानलबाट प्रसारित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा ‘काठमाडौं उत्रिएपछि विमानस्थलबाटै ऋषि धमलाको रिपोर्टिङ, सेक्युरिटीले रोकेपछि यस्तोसम्म भयो’ शीर्षक दिई विमान भित्रबाटै प्रत्यक्ष प्रसारण गरेको सामग्रीप्रति काउन्सिलले उनलाई स्पष्टीकरण सोधेको थियो ।

धमलाले स्पटीकरण पत्रमा आफूले नियतबस काम नगरेको र विमान रोकिएको बेलामा प्रधानमन्त्री बिमानबाट ओर्लिन लागेको भिडियो खिच्न खोजेको बताएका छन् । उनले स्पष्टीकरण पत्र बुझाएको बताउँदै भने– ‘मैले स्पष्टीकरण पत्र पठाइसकेको छु, मैले नियतबस त्यस्तो गर्न खोजेको हैन, एउटा पत्रकारको नाताले प्रधानमन्त्री भारत भ्रमणबाट आएपछि उहाँ यसरी विमानबाट ओर्लिदै हुनुहुन्छ भनेर देखाउन खोजेको हो भनेका छन् ।

पत्रकार धमलाको पत्रमाथि काउन्सिलको बैठक बसेर आवश्यक निर्णय गर्ने बताइएको छ ।