प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाउन आलटाल गरेमा हामी अर्को विकल्पमा छौं

बरिष्ठ नेता- माधव कुमार नेपाल

१४ वैशाख, काठमाण्डौ । नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल निकट स्थायी समिति सदस्यहरूले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले स्थायी समिति बैठक बोलाउन नमाने त्यसको विकल्पमा जान तयार हुनुपर्ने निष्कर्ष निकालेका छन् । वरिष्ठ नेता नेपालको कोटेश्वरस्थित निवासमा उनी निकट स्थायी समिति सदस्यहरूको छलफलमा यस्तो निष्कर्ष आएको हो ।
’प्रधानमन्त्रीसँग पार्टी बैठक बोलाउनुको विकल्प छैन । उहाँले बेठक बोलाउनु हुन्छ भन्ने पक्षमै हामी छौं,’ एक स्थायी समिति सदस्यले भने, ’उहाँले बैठक बोलाउन आलटाल गरेमा हामी पनि विकल्प खोज्छौं । विकल्पका लागि वैधानिक बाटा पनि छन् । तर अहिले नै विकल्पमा जाने बेला भइसकेको छैन ।
आफू निकटका स्थायी समिति सदस्यलाई नेपालले प्रधानमन्त्री ओली बैठक बोलाउने पक्षमा नरहेको समेत जानकारी गराएका थिए । साथीहरू तपाईंलाई सहयोग गर्ने मनस्थितिमा छैनन् भनेर मैले ओलीजीलाई भनेको छु,’ वरिष्ठ नेता नेपालका भनाइ उद्धृत गर्दै एक नेताले भने, ’त्यसो भए ठिकै छ, म पनि मेरै ढंगले चल्छु भनेर उहाँले भन्नुभएको छ ।
कोटेश्वरमा नेपाल निकटका स्थायी समिति सदस्यबीच छलफल चलिरहेका बेला नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि आइपुगेका थिए ।
’प्रधानमन्त्रीले पार्टी बैठक किन बोलाउनुपर्यो, हामी बसेर छलफल गरे भइहाल्छ नि भन्नुभएको छ । बैठक नगरी मिलाऊँ भन्ने कुरा छ,’ प्रचण्डका भनाइ उद्धृत गर्दै एक नेताले भने, ’उहाँले त्यसो भने पनि बैठकका लागि हाम्रो प्रयास जारी छ ।
सदस्य युवराज ज्ञवालीले स्थायी कमिटीले गरेका निर्णयका आधारमा पार्टी अगाडि बढ्ने बताए । स्थायी कमिटीमा धेरै तर्क आउँछन् । त्यहाँबाट एउटा निर्णय आउँछ,’ उनले भने, ’छिटोभन्दा छिटो सचिवालय बैठक बसेर स्थायी समितिको बैठक बस्नुपर्छ । आवश्यक परे केन्द्रीय कमिटी बैठक समेत राख्नुपर्छ ।
आफूहरूले लिखित रुपमै स्थायी समिति बैठक राख्न माग गरेकाले त्यसको विकल्प समेत नरहेको उनले बताए । अध्यादेश फिर्ता भए पनि विधान अनुसार बैठक बोलाउन पर्ने र थुप्रै गम्भीर विषयमा छलफल हुन बाँकी रहेको ज्ञवालीले बताए ।
आगामी दुई तीन दिनभित्र कुनै पनि हालतमा बैठक बोलाउनुपर्नेमा आफूहरूले जोड दिएको अर्का स्थायी समिति सदस्य रघुजी पन्तले बताए । ’कोरोना भाइरस र लकडाउन देखाएर बैठक बोलाउन अलमल गर्न
पाइँदैन । प्रधानमन्त्रीले चाहँदा बालुवाटारमा सांसदहरूको भेला भएकै छ । अनि स्थायी कमिटी बैठक हुन नसक्ने भन्ने हुँदैन,’ पन्तले भने, ’यथाशीघ्र बैठक डाकियोस् भनेर हामीले भनेका छौं । राजनीतिक निर्णयहरू सचिवालयले मात्रै गरेर हुँदैन । स्थायी समितिमा छलफल गरेर निष्कर्ष निकाल्नुपर्छ ।
स्थायी समिति सदस्य बेदुराम भुसालले बैठक बोलाउने बारे छलफल चलिरहे पनि समय तय नभएको बताए । पहिला त सचिवालय बैठक बस्छ होला । अहिले नै यसै भन्न सकिएको छैन,’ उनले भने, ’हामी छलफल गरिरहेका छौं। बैठक बोलाउनुको त विकल्प छैन ।
माधव नेपाल निकटका सदस्यहरूसँग छलफल गरेपछि प्रचण्डले आफूनिकट सदस्यहरूसँग खुमलटारमा छलफल गरेका थिए । छलफलमा प्रचण्डले वरिष्ठ नेता माधव नेपाल पनि स्थायी कमिटी बैठक बोलाउनैपर्ने पक्षमा रहेको र यसको विकल्प नरहेको समेत बताएका थिए ।