Breaking News

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको आज फाइनल खेल : नेपाल र पीएनजी भिड्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको आज फाइनल खेल खेल्दैछ । फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई प्रतिस्पर्धी गर्न लागेको हो । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र पीएनजीबीचको खेल मध्यान्ह १२ः३० बाट सुरु हुनेछ ।

सिरिजको अघिल्ला चार खेलमा सहज जित हात पारेको नेपाल आजको खेलमा जित निकाल्दै उपाधि आफ्नो पक्षमा बनाउने योजनामा छ ।

सन्दीपको कप्तानीमा नेपाले पहिलो पटक घरेलु मैदानमा क्रिकेट सिरिज खेलेको हो । कप्तान तथा खेलाडीको रुपमा आफ्नो लागि यो उपाधि निकै महत्त्वपूर्ण भएको सन्दीपले आइतबार भएको प्रि–म्याच कन्फ्रेन्समा बताए । ‘म एक खेलाडीको नाताले यो सिरिज एकदमै महत्त्वपूर्ण छ । म कप्तानभन्दा पहिले टिमको सदस्य हो । जति खुशी अरुलाई लाग्छ मलाई पनि त्यति नै लाग्छ । सिरिज जिताएर सबै समर्थकहरुलाई खुशी बनाउनेछौँ ।

यता पीएनजीका कप्तान असाड भालाले सिरिजका अन्य खेलमा बेहोरेको हारले केही दबाब भएपनि आफूहरु सिरिजको उपाधि जित्नका लागि खेल्ने भएकाले अहिले त्यो दबाब नभएको बताए । ‘कुनै किसिमको दबाब छैन । हामी सिरिज जित्नका लागि मैदान उत्रनेछौँ । सिरिजका अघिल्लो तीन खेलमा पराजित भएरपनि फाइनलमा स्थान बनाएका छौं । त्यसैले पनि हाम्रो लागि यो सिरिज निकै महत्त्वपूर्ण छ ।