Breaking News

नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवशको सन्दर्भमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाज्युले दिनुभएको मन्तव्य

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा महासंघको ६७ औं स्थापना दिवशको सन्दर्भमा आयोजना भएको कार्यक्रमका लागि मा. स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाज्युले दिनुभएको मन्तव्य

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलज्यु, महासंघका पदाधिकारीज्युहरु, वरिष्ठ पत्रकारज्युहरु र सबै सञ्चारकर्मी साथीहरु , सर्वप्रथम नागरिक अधिकार, लोकतन्त्र, प्रेस स्वतन्त्रता र पत्रकारका हकहित र पेशागत मुद्दाका लागि अविछिन्न रुपमा लड्दै आएको आम पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवशको अवसरमा तपाँइहरु सबैमा हार्दिक वधाई र शुभकामनाका प्रकट गर्दछु ।

यस अवसरमा तपाँइहरुले प्रभातफेरी, फुटसल प्रतियोगिता, सञ्चारका विविध विषयहरुमा विज्ञहरु सहितको अन्तरक्रिया, रक्तदान, स्वास्थ्य शिविर जस्ता रचनात्मक कार्यक्रमहरु आयोजना गरेको र यही मेसोमा मलाई पनि आमन्त्रण गरी स्थापना दिवशको अवसरमा यहाँहरुसंग खुसी साट्ने मौका प्रदान गर्नुभएकोमा हार्दिक आभार प्रकट गर्दै मेरो व्यक्तिगत तर्फबाट र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट समेत महासंघको केन्द्रीय समितिलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

सर्वप्रथम म यस महासंघमा आवद्ध रहनुभएका देशैभरीका तमाम श्रमजीवी पत्रकार तथा सञ्चारकर्मी साथीहरुलाई स्थापना दिवशको अवसरमा विशेष बधाई दिँदै लोकतन्त्र स्थापना, नागरिक अधिकार र निरंकुश व्यवस्था विरुद्धको लडाँइमा कलमको माध्यमबाट जेहाद छेडेकै कारण जेलनेल भोग्नुहुने, सहिद हुनुहुने र अहिलेको विशाल संरचनासहितको सबैको साझा र गरिमामय पत्रकार महासंघ स्थापना गर्नुहुने संस्थापक सदस्य र अग्रज पत्रकारहरुप्रति हृदयदेखिकै सम्झना र उच्च सम्मान गर्न चाहन्छु ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेपाल पत्रकार महासंघ जस्तो गरिमामय संस्थासंग सदा सहकार्य गर्न तयार छ । हामीले कोरोना महामारी विरुद्धको लडाँइ पनि एक भएर लडेका हौं । त्यस दौरानमा जनतालाई सहि र जिम्मेवार सुचना प्रभाव गर्न तपाँइ सञ्चारकर्मीहरुले निर्वाह गर्नुभएको भूमिकाको म उच्च प्रशंशा गर्दछु । कोरोनाकै कारण करिव ३ दर्जन भन्दा बढी संख्यामा सञ्चारकर्मीहरुको दुखद निधन भएको सुचना मैले पाएको छु । म उहाँहरुप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

हामीले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जत्तिकै महत्वकासाथ सञ्चारकर्मीलाई पनि फ्रन्टलाइनरको रुपमा मान्यता दिएर कोभिडविरुद्धको खोपमा पत्रकारहरुलाई उच्च प्राथमिकता दिएका थियौं । आगामी दिनमा पनि जनताको पक्षमा सुचना प्रवाह गर्न दिनरात नभनी लागिरहने तमाम सञ्चारकर्मीहरुको उपचार र स्वास्थ्य सेवा प्रवाहका सन्दर्भमा के कसरी सहकार्य गर्न सकिन्छ, उपयुक्त प्रस्ताव लिएर मन्त्रालयमा आउन म महासंघको नेतृत्वलाई आग्रह गर्दछु ।

सरकारले स्वास्थ्य विमा कार्यक्रम लागू गरिरहेको छ । विमाको दायरामा सबै नेपालीहरु आउने हो भने स्वास्थ्य उपचार निक्कै सहज हुने हाम्रो आँकलन छ । त्यसैले स्वास्थ्य विमा बोर्ड मार्फत विमा गरी पत्रकारहरुको स्वास्थ्य उपचारका सन्दर्भमा स्वास्थ्य मन्त्रालय, सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासंघबीच समन्वय र सहकार्य गरेर अघि बढ्ने सवालमा हामी सधै सकारात्मक छौं । त्यसको उचित प्रस्ताव अघि सार्न पनि म नेपाल पत्रकार महासंघलाई यस स्थापना दिवशको अवसर पारी अनुरोध गर्न चाहन्छु ।

अघिल्लो सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गर्दा श्रमजीवी पत्रकारको लागि रु। ७ लाखसम्मको दुर्घटना विमा गरी प्रिमीयमको ५० प्रतिशत रकम नेपाल सरकारले व्यहोर्ने व्यवस्था मिलाउने र साउन १ गतेबाट नै नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारहरुलाई ‘उपचार सुविधा परिचय पत्र’को आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचार गर्ने व्यवस्था मिलाउने विषय उल्लेख थियो । तर यो आर्थिक वर्ष समाप्त हुन लागिसक्दा पनि यो विषय कार्यान्वयन हुन नसकेकोमा म चिन्तित छु ।

विषयगत रुपमा सञ्चार मन्त्रालय अन्तर्गतको कार्यक्रम भएपनि यो कार्यान्वयनको सवाल मेरो मन्त्रालयसंग जोडिएको विषय हो । म मेरै कार्यकालमा यो विषय कार्यान्वयको सुरुवात होस् भन्ने चाहन्छु । त्यही भएर मैले मातहतका कर्मचारीहरुलाई यो विषय कार्यान्वयनमा ल्याउनका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको छु । खासगरी सञ्चार मन्त्रालयले यसको लागि एक कार्यविधीको तयारी गरिरहेको भन्ने जानकारीमा आएको छ ।

पत्रकार महासंघले सञ्चार मन्त्रालयमा ताकेता गरी कार्यविधी छिटो भन्दा छिटो तयार गर्न लगाई अर्थ लगायतका अन्य सरोकारवाला मन्त्रालयसंग समेत परामर्शमा फाइल म कहाँ आइपुग्यो भने मेरो मन्त्रालयबाट हुने नीति र निर्णयगत सहजीकरण तत्कालै गरी सबै अस्पतालहरुमा यो निर्देशन पठाइदिने र पत्रकारको सरकारी अस्पतालबाट निशुल्क उपचारको व्यवस्था कार्यान्वयनमा ल्याउने समेत प्रतिवद्धता ६७ औं स्थापना दिवशको यो पुनित अवसरमा तपाँइहरु समक्ष गर्दछु ।

सस्तो, प्रायोजित र तडकभडकपुर्ण प्रचारप्रसारमा विल्कुलै रुचि नराख्ने, हुन र गर्न नसक्ने आश्वासन दिन नचाहने र आफ्नै ढंगले जनताको पक्षमा क्षमता, वुद्धि र विवेकले भ्याएसम्म नियमित काम गर्ने मेरो शैलिलाई आत्मसात गर्दै मन्त्रालय र यसले गरेका सकारात्मक निर्णय र राम्रा विषयहरुमा यहाँहरुले आफ्ना सञ्चारमाध्यम मार्फत प्रकाशन–प्रशारण गरी सहयोग पु¥याइदिनु भएकोमा हार्दिक आभार प्रकट गर्दछु ।

अन्तमा, कोभिडको चुतौतिपुर्ण अवस्थाकाबीच स्वास्थ्य तथा जनसंख्या जस्तो नितान्त प्राविधीक विषयको मन्त्रालय सम्हाल्न आइपुगेको अवस्थामा सञ्चार क्षेत्रबाट प्राप्त सहयोग, स्वस्थ्य आलोचना र सुझावहरुका लागि नेपाल पत्रकार महासंघ मार्फत सम्पुर्ण सञ्चारकर्मीहरुलाई विशेष धन्यवाद दिँदै तपाँइहरुको यो ६७ औं वार्षिकोत्सवको पुर्ण सफलताको कामना समेत गर्दछु । धन्यवाद ।
–२०७८ चैत १६ गते बिहान ९ बजे , एयरपोर्ट, काठमाडौं